“ब्याजदर क्रमिकरुपमा घट्दै गइरहेको छ”


काठमाडौं । ब्याजदर क्रमिकरुपमा घट्दै गएको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताएका छन् । सोमबार पत्रकार सम्मेलनमा अध्यक्ष केसीले ब्याजदर क्रमश घट्दै गएको बताएका हुन् ।

उनले ३ ४ महिना अघिदेखि नै भन्दै आइरहेको कुरा हो अब आउने असार साउनसम्म घट्दै जाने अवस्था देखेको बताए ।
कर्जाको ब्याजदर पुसमा १२.७९, माघ र फागुनमा १३.०३ प्रतिशत र चैतमा १२.८४ प्रतिशत रहेको थियो ।

अध्यक्ष केसीले स्प्रेड रेट घटाउनको लागि पनि कर्जाको ब्याजदर घट्दै जाने बताएका छन् । “राष्ट्र बैंकले स्प्रेड रेट असारसम्ममा ४ प्रतिशतमा ल्याउन भनेको छ । अहिले ४.२ प्रतिशतको हाराहारीमा होला त्यो घटाउनको लागि पनि कर्जाको दर घट्दै जान्छ,” अध्यक्ष केसीले भने ।

उनले तरलता समस्या समाधान भइनसकेको तर सुधार हुँदै गइरहेको बताएका छन् । उनले भने,“तरलता पनि सहज हुँदै आइरहेको छ । गत वर्ष २–३ सय अर्बसम्म बजारमा समस्या हुन्थ्यो अहिले १०–१५ अर्ब जति बजारमा होला ।”