फुटपाथ मिच्ने ३४ वर्कसपलाई काठमाडौँ महानगरकाे कारवाही, ५ हजारका दरले तिरायाे जरिवाना


काठमाडौँ । फुटपाथ मिचेर आवागमन प्रभावित हुने गरि मोटरसाइकल वर्कसप सञ्चालन गर्ने ३४ वटा वर्कसपलाई काठमाडौँ महानगरपालिकाले जरिवाना तिराएको छ ।

सडक आवागमनमा अवरोध गरेर सञ्चालन भएका ३४ वटा मोटरसाइकल वर्कसपलाई ५ हजार रुपैयाँका दरले महानगरपालिकाले जरिवाना तिराएको हो । बुधबार नगर प्रहरीले सडकमा मोटरसाइकल मर्मत गर्ने, मोबिल पोखेर सडक चिप्लो बनाउने, मर्मतका सामान सडक किनारामा राखेर फोहोर बनाउने, मोटरसाइकल सफा गरेको पानी सडकमा पठाएर कालो बनाउने ५५ जनालाई नियन्त्रणमा लिएको थियो ।

बुधबार नै कवाडी सामान संकलन गरेर सडक आवागमनमा अवरोध गर्ने गरी राख्ने दुई जनालाई महानगरले नियन्त्रणमा लिएर १० हजार रुपैयाँ जरिवाना तिराएको छ । यस्तै प्रचार वोर्ड बोकेर क्याम्पसमा भर्नाका लागि प्रचार गर्दै हिँडेका एक जनालाई पक्राउ गरी ५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

यसरी सहरी व्यवस्थापनमा अवरोध गर्नेहरुलाई तिराइएको जरिवानाबाट महानगरले एकै दिनमा १ लाख ८५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।