स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु


रसुवा । रसुवाको स्याफ्रुबेसीमा बेलिब्रिज जडानका लागि फाउन्डेसन निर्माणको काम सुरु भएको छ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार नदीका दुवैतर्फ उपकरण परिचालन गरी सडकको अस्थायी ट्रयाक खोल्ने काम अघि बढाइएको छ। ७६ मिटर लामो बेलिब्रिज निर्माणका लागि एक्सेस रोड निर्माणको कामसमेत भइरहेको छ।

बेलिब्रिज जडानका लागि १४ मिटर फाउन्डेसन उठाउन आवश्यक जग खन्न दुईवटा स्काभेटर परिचालन गरिएको मन्त्रालयले जनाएको छ।

वेत्रावतीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेपछि स्याफ्रुबेसीमा पनि निर्माण कार्यलाई तीव्रता दिइएको हो।

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माण सम्पन्न भएपछि रसुवागढीसम्मको सडक सञ्जाल पुनःस्थापित हुने मन्त्रालयले जनाएको छ।