लगानीकर्ताले देउवालाई भेटेर ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाए


काठमाडौं । सेयर लगानीकर्ताहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर ज्ञापन पत्र बुझाएका छन् ।

बिहीबार सेयर लगानीकर्ताका तीन संगठनका प्रतिनिधिहरुले सभापति देउवालाई भेटेर ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, निवर्तमान अध्यक्ष छोटेलाल रौनियार, नेपाल पुँजिबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल र शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलसहित अन्य लगानीकर्ताहरूले देउवालाई भेटेर हालको पुँजीबजारको अवस्थाको बारेमा अवगत गराउँदै आगामी दिनमा हुनुपर्ने सुधारका पाटाहरू औँल्याएका छन् ।

लगानीकर्ताहरुले खुल्ला रूपमा नयाँ ब्रोकर लाईसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्स वितरण प्रक्रिया ढिलासुस्ति बिना कार्यान्वयन गर्न माग गरेका हुन् ।

यस्तै संगठनहरुले सेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत कायम गर्न, १२ करोडको सीमा हटाउन, दीर्घकालीन र अल्पकालीन लगानीकर्तालाई क्रमशः ३ र ५ प्रतिशत पुँजीगत लाभकर कायम गर्न, एकल अंकमा ब्याजदर कायम गर्न तथा तरलता समस्या समाधान गर्न माग राखेका छन्।

लगानीकर्ताले देउवालाई बुझाएको ६ बुँदे माग

  • १ लगानीकर्ताहरुको प्रमुख माग रहेको खुल्ला रुपमा नयां ब्रोकर लाइसेन्स, नयां स्टकएक्सचेन्ज र कमोडिटी एक्सचेनजको लाइसेन्स वितरण प्रकिया बिना ढिलासुस्ति कार्यान्वयन गर्ने ।
  • २ बाह्र करोड सम्मको शेयर कर्जाको सिमाले शेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्था फिर्ता लिनका लागि अनुरोध ।
  • ३ शेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिनुहुन अनुरोध ।
  • ४ लगानीकर्तालाई अल्पकालिन र दिर्धकालिन लगानीकर्ताको रुपमा विभाजन गरी सोहि अनुरुप अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दिर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पुंजीगत लाभकर लगाउने व्यवस्था गर्ने ।
  • ५ विधमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकाले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिनुहुन अनुरोध ।
  • ६ तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकाले उक्त समस्याको तत्कील समाधान गर्ने ब्यवस्था गरिदिनु हुन अनुरोध ।
  • उपरोक्त माग पुरा भएको खण्डमा सेयर बजारको गुणात्मक र परिमाणात्मक दीर्घकालीन विकास हुने लगानीकर्ताको भनाइ छ ।