प्रधानमन्त्रीको भारत भ्रमणकै दिन राष्ट्रपतिद्वारा नागरिता विधेयक प्रमाणिकरण


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार बुधबार बिहान राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेका हुन् ।

प्रधानमन्त्रीको भारत भ्रमणकै दिन राष्ट्रपतिबाट विवादस्पद नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणित गरेका छन् ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत रहेको भनेर ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो ।

मन्त्रिपरिषद्को आग्रहअनुसार संविधानको धारा ६१ र ६६ बमोजिम राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेका हुन् ।

संघीय संसदले साउन २०७९ मै नागरिकता विधेयक पास गरेको थियो । तर तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी थिइन् ।

अघिल्लो संसदका दुवै सदनले पारित गरेर नागरिकता विधयेक प्रमाणीकरणका लागि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ दुईपटक पठाएको थियो । भण्डारीले देशको हितविपरितका कतिपय प्रावधान रहेको र महिलाविरोधी रहेको भन्दै सो विधेयक प्रमाणित नगरी संसदमा फिर्ता पठाएपछि पुनः संसदबाट जस्ताको तस्तै पारित भएको थियो ।