कृत्रिम आधारमा बजेट तयार गरिएको छ : पूर्वअर्थमन्त्री खतिवडा


काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले सार्वजनिक गरेको आगामी वर्षको बजेट कृत्रिम आधारमा तयार भएको बताएका छन् । सोमबार आर्थिक मिडिया सञ्चालकहरूको संस्थाले आयोजना गरेको कार्यक्रममा डा. खतिवडाले कमजोर जगमा बजेटको संरचना तयार भएको बताएका हुन् ।

इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको बजेट पछिको बहसमा कमजोर जगमा बजेटकाे संरचना तयार पारिएकाे हुनाले त्यसको कार्यान्वयन,लक्ष्य हासिल हुने कुरा र विश्वासनियतामा प्रश्न उठ्ने बताए ।

अर्थशास्त्री खतिवडाले चालु आर्थिक वर्षको बजेटलाई तुलना गर्दा आगामी वर्षको बजेटलाई न्याय गर्न नसकिने बताए ।

उनले भने ‘बजेटमा राम्रा कुराहरु भनिएका छन् नभएका हैनन्, सुन्दा कति राम्रो बजेट भन्दै हुनुन्थ्यो पछि आर्थिक विधेयकको पाना पल्टाउँदै जाँदा झसंग हुनुहुन्छ त्यसैले अहिलेको आर्थिक विधेयक पनि पढ्नु भयो होला अहिलेको बजेट सरोकारवालाहरुले कसरी लिनुहुन्छ त्यो नै महत्वपूर्ण हुन्छ ।’

‘सामान्यता बजेट दुइवटा ग्राउण्डमा आलोचित हुने गर्दछ’, खतिवडाले भने ‘समस्या समाधन गर्ने गरी कठोर ढंगले बजेट आओस्, सस्ता लोकप्रिय कार्यक्रम नल्याओस्, कर प्रणाली सुधार गर्न, वृद्धभत्ता नबढ्ने बजेट आलोचित हुन्छ जस्तो मेरो पहिलो वर्षको बजेट थियो अर्को कसैलाई पनि खुसी पार्न नसक्दा आलोचित हुन्छ ।’