पाेखरा फेवाफाँटका स्थानीयद्वारा महानगरमा धर्ना


पोखरा । फोखराको फेवाफाँटका स्थानीयले पोखरा महानगरमा धर्ना दिएका छन ।

पोखरा महानगरले कोहीलाई काखा र कोहीलाई पाखा गरेको भन्दै फेवाफाँटमा वर्षौदेखी खेती गर्दै आएका स्थानीयहरुले महानगरमा नाराबाजी सहित धर्ना दिएका हुन ।

फेवाफाँटको जग्गालाई पोखरा महानगरपालिकाले आवास र कृषि गरी छुट्याइरहदा आवासमा परेका व्यक्तिहरुले प्लटिङ गरेकै कारण कृषियोग्य जग्गा डुवानमा परेको भन्दै स्थानीयले संघर्ष समिति बनाएर महानगरमा ध्यानाकर्षण सहित धर्ना दिएका हुन् ।

धमाधम माटो पुरेर प्लटिङ भइरहकेकाले कृषि क्षेत्रको जग्गा होचो भागमा परी पानी जमेर खेतीपाती गर्न समेत गाह्रो परेकै कारण वर्षा अगावै महानगरमा ध्यानाकर्षण गराउन आएको स्थानीय देवीलाल लामिछानेले बताए ।

महानगरको दोहोरो नियमका कारण आफुहरु मर्कामा परेकाले महानगरमा धर्ना दिनुपरेको वताउदै लामिछानेले फेवाताल संरक्षणको नाममा धन्दा चलाउनेहरुले वास्तविक पीडितहरु झनै पिडित बनेको बताए ।

लामिछाने आयोग र पुण्य पौडेलको प्रतिवेदन अनुसार आफुहरुको जग्गा फेवातालमा नपर्ने उनको भनाइ रहेको छ ।

चारकिला भित्रको जग्गालाई आवास बनाउनेहरुले आफुहरुलाई दिनानुदिन दुख दिने काम गरिरहेको र सिमसार भनेर केही काम गर्न नदिएको वताए ।

चार किल्ला भित्रको जग्गालाई संरक्षण गर्न नसक्नेहरुले केही व्यक्तिहरुको लहडमा लागेर सिमसार भनी कोहीलाई पाखा र कोहीलाई काखा बनाउने तयारी समेत भइरहेको र त्यसो गरिए आफुहरुले आन्दोलनलाई कडा रुपमा अगाडि बढाउने समेत चेतावनी दिए ।

लामिछाने जस्तै धर्नामा सहभागी कुलप्रसाद तिमिल्सिनाले महानगरले आबासका नाममा घडेरी बनाउनेलाई काखा र घडेरी बनाउदा पुरेको माटोका कारण डुबानमा परेका जग्गाधनीहरुलाई पाखा लगाउने काम गरेको वताए ।

फेवाफाँटका जग्गाधनीको लालपुर्जा एउटै भएपनि पछिल्लो समय महानगरले जग्गाको वर्गीकरण गर्दा कसैलाई आबास र कसैको कृषिमा पारेकै कारण आफुहरुको जग्गा होचो भागमा परी वर्षायाममा पोखरी बनेर खेती गर्न सकस परेको छ ।

त्यसो त आफुहरुले आफ्नो जग्गालाई कृषि प्रयोजनको लागी माटोले पुरेर प्लटिङकै बरावर बनाइ खेती गर्न पाउनुपर्ने स्थानियको माग छ । स्थानीयहरुले युवा व्यावसायी युवराज खतिवडालाई माटो पुर्नका लागि नियमअनुसार काम लगाउदा उनको डोजर र ट्रिपर नियन्त्रणमा लिनु दुखद भएको स्थानीय निर्मला तिमिल्सिनाले वताइन । तिमिल्सिनाका अनुसार कृषि प्रयोजनका लागि माटो पुर्दा व्यावसायीको सवारी साधन नियन्त्रणमा लिनुभन्दापनि आफुहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्न चुनौती समेत दिए । नियम लाग्दा माटो पुरेर प्लटिङ गर्नेलाई पनि लाग्नुपर्ने उनको भनाइ रहेको थियो ।

धर्ना कार्यक्रममा पुगेका युवा व्यावसायी युवराज खतिवडाले आफुले स्थानियहरुको माग अनुसार नै महानगरले कृषि भनेर तोकेको क्षेत्रमानै माटो पुरेको बताए । स्थानीयले आफुलाई माटो पुरिदिन आग्रह गरेको र आफुले नियम अनुसारनै माटो पुरेको तर पछिल्लो समय अन्य प्रयोजनको लागी बाटोमा हिडिरहेको आफ्नो सवारीलाई महानगरले नियन्त्रणमा लिएर अनाहकमा स्टन्टबाजी गरेको खतिवडाको अरोप छ ।

स्थानीयले भने आफुहरुको सुनुवाई नभएसम्म आन्दोलनका कार्यक्रमलाई शसक्त ढंगले अगाडी बढाउने र त्यसको सम्पूर्ण जिम्मा महानगरले लिनुपर्ने अडान राखेका छन ।