अब लक्जरी ट्याक्सी चढ्न दोब्बर शुल्क तिर्नुपर्ने


काठमाडौँ । सरकारले ट्याक्सीका रूपमा प्रयोग हुने सवारी साधनलाई तीन भागमा वर्गीकरण गर्ने तयारी गरेको छ । यातायात व्यवस्था विभागले सवारीसम्बन्धी मापदण्ड, २०८०’को मस्यौदा जारी गर्दै उक्त मस्यौदाका सम्बन्धमा आगामी असार ४ गतेभित्र वस्तुपरक सल्लाह, सुझाव इमेल तथा फेसबुक पेजमार्फत पठाउन अनुरोध गरेको छ ।

विभागले जारी गरेकाे मस्याैदा अनुसार अब ट्याक्सीलाई साधारण (अर्डिनरी), विशेष (डिलक्स) र विशिष्ट (लक्जरी) गरी तीन भागमा वर्गीकरण गरिनेछ । विभागले ट्याक्सीको आकार, यान्त्रिक क्षमता तथा उपलब्ध सुविधाका हिसाबले वर्गीकरण गर्ने तयारी गरिएको हो ।

अर्डिनरी ट्याक्सी न्यूनतम आठ सय सिसी क्षमता वा सोभन्दा माथिको इञ्जिन भएको र विद्युतीय सवारीको हकमा ब्याट्रीमा सञ्चित हुने उर्जा (किलोवाट आवर) र सवारीको कुल भार (केजी) बीचको न्यूनतम अनुपात शून्य दशमलव ०१२ हुनुपर्नेछ ।

डिलक्स ट्याक्सी न्यूनतम एक हजार दुई सय सिसी क्षमता वा सोभन्दा माथिको इञ्जिन भएको र विद्युतीय सवारीको हकमा ब्याट्रीमा सञ्चित हुने उर्जा (किलोवाट आवर) र सवारीको कुल भार (केजी) बीचको न्यूनतम अनुपात शून्य दशमलव ०१९ हुनुपर्नेछ ।

त्यस्तै लक्जरी ट्याक्सीको हकमा न्यूनतम दुई हजार सिसी क्षमता वा सोभन्दा माथिको इञ्जिन भएको र विद्युतीय सवारीको हकमा ब्याट्रीमा सञ्चित हुने उर्जा (किलोवाट आवर) र सवारीको कुल भार (केजी)बीचको न्यूनतम अनुपात शून्य दशमलव ०२५ हुनुपर्नेछ ।

विभागले ट्याक्सीको वर्गीकरण अनुसार भाडा दर बढाउने भएकाे छ ।जसअनुसार अर्डिनरी वर्गको ट्याक्सीको हकमा हाल नेपाल सरकारले ट्याक्सीका लागि तोकेको भाडादर नै कायम हुनेछ भने डिलक्स ट्याक्सीको भाडादर अर्डिनरीको तुलनामा २० प्रतिशत बढी हुनेछ । साथै, विभागले लक्जरी ट्याक्सीका लागि अर्डिनरी ट्याक्सीको भाडादरभन्दा एक सय प्रतिशत अर्थात् दोब्बर भाडादर प्रस्ताव गरेको छ ।