अर्थसमितिको निर्णयप्रति आपत्ति जनाउँदै न्यू स्टक ब्रोकर एशोसिएसनले बुझायो ज्ञापनपत्र


काठमाडौं । न्यु स्टक ब्रोकर एशोसिएसन नेपाल लिमिटेडले नयाँ ब्रोकर लाइसेन्स रोक्ने अर्थ समितिको निर्णयप्रति आपत्ति जनाउँदै ज्ञापन पत्र बुझाएको छ ।

एशोसिएसनले हिजो मंगलबार अर्थ समितिलाई नयाँ धितोपत्र दलाल व्यवसायी तथा व्यापारीको लाइसेन्स रोक्न नहुने माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

एशोसिएसनले अर्थ समितिलाई नेपालको पूँजी बजार विकास तथा विस्तारमा नेपाल सरकार, मन्त्री परिषद तथा मातहतका मन्त्रालय एवं नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट विभिन्न चरणहरुमा आवश्यकता बमोजिमका कार्यहरु भइरहेको पनि अवगत गराएको छ ।

सर्वोच्चले नै बाटो खुलाएर नयाँ ब्रोकरलाई लाईसेन्स दिएपछि संसदको अर्थ समितिले न्यूनतम मापदण्ड पूरा गरेको वा नगरेको सम्बन्धमा अध्ययन गर्ने भन्दै तत्कालका लागि यो प्रक्रिया रोक्न निर्देशन दिएको छ ।

एशोसिएसनले बुझाएको ज्ञापन पत्रमा ‘न्यु स्टक ब्रोकर एशोसिएसनले अर्थ समितिको निर्देशनलाई तुरुन्त खारेज गर्न अनुरोध गरेको छ । एशोसिएसनले ज्ञापनपत्रमा भनेको छ, ूसम्माननीय अर्थसमितिलाई तोकिएको काम, कर्तव्य र अधिकार भन्दा बाहिर गई केही सीमित सिण्डिकेट र एकाधिकार बजार चाहने हाल सञ्चालनमा रहेका धितोपत्र दलाल व्यवसायीहरुको गुमराहमा परी तिनीहरुको सिण्डिकेटलाई कायम गर्न मद्दत पुग्ने गरी करीब आधा करोड लगानीकर्ताहरुको आशा र विश्वासको विपरीत बजारको विकास र विस्तारलाई रोक्ने उद्देश्यले नेपाल सरकार, अर्थमन्त्रालय, धितोपत्रबोर्ड र नेपाल स्टक एक्सचेन्जलाई जारी निर्देशनले नेपालको पूँजी बजारमा भएको यत्ती ठूलो प्रगतिलाई रोक्ने भएको हुँदा यस्तो पूर्वाग्रह पूर्ण निर्देशनलाई तुरुन्त खारेज गर्न अनुरोध गर्दै सम्माननीय अर्थ समितिलाई निम्न विषयहरु उपर गम्भीरताका साथ लिई दिनु हुन एवं संघीय संसद अन्तरगतको यस समितिबाट नेपालको पूँजीबजार सुधार तथाबजारको विकास एवं विस्तारको कार्यलाई नेतृत्व प्रदान गरिदिनु हुनका लागि हामी हार्दिक आग्रह गर्दछौं ।’ उल्लेख गरिएको छ ।

अविश्वसनीय ढंगबाट सर्वोच्च अदालतको फैसलालाई समेत चुनौति हुने गरी अर्थ समितिको निर्णय भएको एशोसिएसनको आरोप छ ।

एशोसिएसनले पुँजीबजारको विकास तथा विस्तार गरी लगानीको रक्षा गर्दै आवश्यक प्रक्रियालाई थप सहजिकरण गरिदिन अर्थसमितिलाई अनुरोध गरेको छ ।