मुख्य सचिव डा. अर्याल र परिसंघका पदाधिकारीबिच विद्यमान अर्थतन्त्रका विषयमा छलफल


काठमाडौँ । नेपाल उद्योग परिसंघले नवनियुक्त मुख्य सचिव डा. बैकुण्ठ अर्यालसँग भेटवार्ता गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आज नवनियुक्त मुख्य सचिव अर्यालसँग भेट गरी बधाई तथा शुभकामना दिदै विद्यमान अर्थतन्त्रका विषयमा छलफल गरेको हो ।

परिसंघका अध्यक्ष अग्रवालले अर्थ, उद्योग, वाणिज्य क्षेत्र बुझेको व्यक्ति मुख्य सचिव भएकोमा खुसि व्यक्त गर्दैै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । अर्थतन्त्रको बर्तमान अवस्था चुनौतीपुर्ण रहेको भन्दै लगानी बढाएर मात्र अर्थतन्त्रलाई चलयमान बनाउन सक्नेमा उनले जोड दिए ।

परिसंघले बजेटको प्रभावकारी कार्यान्वयनमा रचनात्मक सहयोग गर्ने गरी निजी क्षेत्रकै तर्फबाट पहिलो पटक ‘बजेट वाच’ कार्यक्रम संचालन गरिरहेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनका लागि बजेट कार्यान्वयन अनुगमन समिति बनाउने घोषणा गरेको छ । यसको स्वागत गर्दै अध्यक्ष अग्रवालले उक्त समितिमा परिसंघको प्रतिनिधित्व गराउन आग्रह गरेका छन् ।

सोही अवसरमा अध्यक्ष अग्रवालले मन्दीमा रहेको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको रिबुटिङ नेप्लिज इकोनोमी अवधारणा मुख्य सचिव डा. अर्याल समक्ष पेश गरेका छन् ।

परिसंघले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र, औद्योगिक प्रबद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ ।

परिसंघको बधाई तथा अर्थतन्त्र सुधारका सुझाव ग्रहण गर्दै नवनियुक्त मुख्य सचिव डा. अर्यालले अर्थतन्त्रको समस्या समाधानका लागि लगानी वृद्धि गर्न अपरिहार्य रहेको बताए । उनले पुँजीगत खर्च बढाउन आवश्यक रहेको भन्दै त्यसलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । उत्पादनमा आधारित भए मात्र अर्थतन्त्र अगाडि बढ्न सक्ने भन्दै आर्थिक विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको उल्लेख गरे ।