बैकिङ प्रणालीमा अधिक तरलता, रिभर्स रिपोमार्फत रू.१० अर्ब तान्दै राष्ट्र बैंक


काठमाडौं । बैंकहरुले कर्जा प्रवाह गर्न नसकेपछि यतिबेला बैंकिङ प्रणालीमा ठूलो अनुपातमा लगानीयोग्य पुँजी जम्मा भएको छ । यसरी बैकिङ प्रणालीमा अधिक तरलता भएपछि व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंक आज बिहीबार १० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ।

राष्ट्र बैंकले १० अर्बको रिभर्स रिपो जारी गरेपछि अधिक तरलताको स्थिति ३२ अर्ब रहनेछ । केन्द्रीय बैंकले ७ दिने अवधिको वित्तीय औजार रिभर्स रिपो जारी गर्न लागेको हो। तरलता व्यवस्थापनका राष्ट्र बैंकले ७ दिनका लागि रिपो जारी गरी अधिक तरलता बजारबाट प्रशोचन गर्न लागेको केन्द्रीय बैंकले बताएको छ ।

जसअनुसार रिपोको म्याचुरिटी पिरियड अर्थात बैंकहरुले रिपोमा राखेको रकम फिर्ता पाउने समय असार १४ गतेलाई तोकिएको छ।

जारी रिपोमा बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने र त्यस्ता संस्थासँग मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ।

रिपोमा सहभागी हुन बैंकहरुले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्नेछ। परेको बोलकबोलबाट भारित औसतमा ब्याजदर निर्धारण गरिनेछ।

निक्षेपको तुलनामा लगानी विस्तार हुन नसकेपछि बजारमा बढेको मुद्रा प्रवाह नियन्त्रणका लागि राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार अहिले बैंक वित्तीय संस्थाहरुमा कुल निक्षेप ५५ खर्ब ६७ अर्ब भन्दा धेरै रहेको छ । असार ४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुले ४८ खर्ब ५६ अर्ब कर्जा लगानी गरेका छन ।