मन्त्रालय दुग्ध विकास बोर्डको पक्षमा छ: मन्त्री भुसाल


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भूसालले सरकार दुग्ध विकास बोर्डको पक्षमा रहेको बताएका छन्। आइतवार एक कार्यक्रममा बाेल्दै उनले बाेर्ड खारेज हुने कुराले आत्तिइहाल्नुपर्ने अवस्था नरहेकाे र मन्त्रालयले याे व्यवस्थापन गर्ने बताएका हुन्।

नेपाल डेरि एशोसिएशनको प्रकाशन ‘डेरी दर्पण’ काे चाैथाे संस्करणकाे विमोचन कार्यक्रममा बोल्दै भूसालले राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजीको विषय चिन्ताको विषय नरहेको दाेहाेर्याउदै किसानहरू आत्तिनु नपर्ने बताएका हुन् ।

बोर्ड खरोजी भए पनि त्यसको विकल्पमा मन्त्रालयले दुग्ध क्षेत्रको विकासमा कुनै पनि बाधा नहुने व्यवस्था गर्ने प्रतिवद्धता उनकाे छ । उनले भने, “बोर्ड खारेज हुने विषयलाई लिएर संसार नै डुबे जस्तो बनाउन आवश्यक छैन । सरकार दुग्ध क्षेत्र विकासको पक्षमा पछिल्ला दिनहरूमा अझै सशक्त रूपमा अघि बढ्ने निर्णय गरेकाे छ । यसमा किसानहरूले चिन्ता मान्र आवश्यक छैन।”

भूसालले मन्त्रालयले कृषिलाई प्रथामिकता दिनको लागि पहल गरेन भन्रु उचित नरहेको बताएका छन् । उनले अहिलेको बजेटमा समेत कृषि क्षेत्रलाई प्रथामिकतामा राखेर सबैभन्दा बढी बजेट विनियोजन गरेको बताएका छन् ।

“कृषि क्षेत्रलाई विगतबाट नै प्रथामिकतामा राखेर सरकार अघि बढेको छ । त्यस काराण कृषि क्षेत्रमा नीतिगत अभावका कारण केही अलमल पक्कै भएको छ यसको लागि हामीले समाधान तर्फ पनि अघि बढेका छौँ ।” उनले भने ।

नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्रल्लाद दाहालले पछिल्लो समय देशमा दुधको उत्पादन बढी हुदाँ यसले बजार पाउन मुस्किल रहेको बताए ।

अध्यक्ष दाहालले अहिले दैनिक ६२ लाख लिटर दुध उत्पादन हुदैँ आएको र ५० प्रतिशत अर्थात ३१ लाख लिटर दुध मात्र बजारसम्म आउन सकेको बताएका छन् ।

दाहालले भने, “५० प्रतिशत अर्थात ३१ लिटर दुध आजसम्म पनि बजारसम्म जोडिन सकेको छैन । दुरदराजबाट बजारसम्म त्यहाँको उत्पादित दुध ल्याउन नसक्नु आजको मुख्य चुनौती रहेको छ । यदि यो दुधलाई बजारसम्म जोडिन सक्दा हाल नपुग भनिएको २० प्रतिशत दुध पनि पुरा भई बाहिर निर्यात गर्न सक्ने अवस्था हुनेछ ।’’

दाहालले राज्य पक्षले ३५ अर्ब निजी क्षेत्रको लगानी, ५ देखि ६ लाख कृषक परिवारको रोजगारी, ३५ हजार उद्योग तहको रोजगारी, दैनिक ६ करोड शहरको रकम गाउँमा नगद प्रवाह गर्ने क्षेत्रको संरक्षण गरेर समग्रा देशको अर्थतन्त्रलाई मजबुत बनाउनु अहिलेको आवश्यक रहेको बताएका छन् ।

नेपाल डेरी एशोसिएशनले आफ्नो २४ औँ वार्षिक उत्सवकाे अवसरमा डेरी सम्बन्धी विभिन्र जानकारी दिने उद्देश्यका साथ चौथो डेरी दर्पण वार्षिक मुखपत्र सार्वजनिक गरेकाे हाे।