भन्सार एजेन्ट प्रतिनिधि संघद्वारा दुई दिनदेखि भन्सार विभागमा धर्ना


काठमाडौँ । भन्सार एजेन्ट प्रतिनिधि संघले दुई दिनदेखि भन्सार विभागमा धर्ना दिएको छ ।

काठमाडौँको त्रिपुरेश्वरस्थित भन्सार विभाग अगाडि संशोधित भन्सार ऐन २०६४ र नियमावली ०६४ ले भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यावस्था नै खारेज गरेको भन्दै हिजोदेखि धर्नामा बसेका हुन् ।

भन्सार एजेन्ट प्रतिनिधि संघका प्रतिनिधिहरूले भन्सार एजेन्ट प्रतिनिधिहरूलाई राज्यले उचित व्यवस्थापन गर्नु पर्नेमा उल्टो व्यवस्था खारेज गरेको भन्दै आन्दोलन तथा धर्ना दिनुपरेको बताए ।

देशभर कार्यरत ३०० भन्दा बढी भन्सार प्रतिनिधिहरू जेठ १५ गतेबाट बेरोजगार भएको भन्दै भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यावस्था कायम गर्न माग गरेका हुन् ।

भन्सार एजेन्ट प्रतिनिधि संघ नेपालद्वारा आयोजित धर्नाका संयोजक खड्गबहादुर कार्कीले सरकारले आगामी आर्थिक वर्षको बजेटमा भन्सार ऐन संशोधन गर्दा ३०० जनाको रोजगारी खोसिएको बताए ।

उनले ३ सय जनाको रोजगारीको ग्यारेण्टी गर्नको लागि सरकारलाई दबाब दिन धर्ना बसेको बताए ।

उनले आन्दोलनमा व्यवसायी संस्थाहरू सबैको साथ सहयोग रहेको बताए । सरकारले आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी संघले दिएको छ ।

धर्नामा मेची भन्सार एजेन्टका प्रतिनिधि शंकर थापाले सरकारले बजेटमार्फत षड्यन्त्रपूर्वक भन्सार एजेन्टका रुपमा काम गर्ने पाउने व्यवस्था खारेज गरेको बताए ।

उनले भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यावस्था नै खारेज गरेर सरकारले ३०० जनालाई सडकमा ल्याएको बताए ।

धर्नामा रहेका राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालका अध्यक्ष भोलानाथ अर्यालले सरकारले आर्थिक ऐनमार्फत भन्सार एजेन्टहरू हटाएर भन्सार प्रतिनिधिहरूको रोजगारी माथि लात हानेको बताए ।

उनले २५ देखि ३० वर्षदेखि भन्सार एजेन्ट बनेर सरकारको राजश्व संकलनमा महत्वपूर्ण योगदान दिएको बताए ।