लघुवित्तको सेवा बन्द गर्नुपर्ने अवस्था आउन सक्छ: लघुवित्त बैंकर्स संघ


काठमाडौँ । नेपाल लघुवित्त बैंकर्स संघले लघुवित्त वित्तीय संस्थाहरु विरुद्ध अवरोध सिर्जना गर्ने, कपोकल्पित आक्षेप लगाई अनर्गल प्रचार गर्ने गरेको भन्दै आपत्ती जनाएको छ ।

संघले पत्रकार सम्मेलन गर्दै केही व्यक्ति र राजनीतिक समूहले “लघुवित्तीय विरुद्धको संघर्ष समिति” नामको अवैधानिक समूह बनाएर सुनियोजितरुपमा वित्तीय संस्था जस्तो अत्यावश्यक सेवा अवरुद्ध गर्ने गरेको भन्दै आपत्ति जनाएको हो ।

विभिन्न समूह बनाएर कर्मचारीहरु माथि हातपात गर्ने, कार्यलयमा तोडफोड तथा उपकरण र रकम लुटपाट तथा आगजानीको प्रयास गर्ने गर्दै आइरहेका छन् ।

संघले कर्जा लिएर नतिर्ने, अटेरी गर्ने, वित्तीय अनुशासन नभएका, मादक पदार्थ सेवन गर्ने र समाजमा आर्थिकरुपमा बदनाम भएकाहरु यस्ता गतिविधिमा लागेको उल्लेख गरेको छ ।

नेपाल लघुवित्त बैंकर्स संघका निर्वतमान अध्यक्ष बसन्तराज लम्सालले ऋण मिनाहा गर्ने, शून्य प्रतिशत ब्याजदरमा ऋण दिनुपर्ने भन्ने असाधारण माग राखेर सेवा प्रवाहमा समस्या भइरहेको बताए ।

उनले अहिले वित्तीय कारोबारमात्र नभई जिउधनको समेत असुरक्षा बढेको उल्लेख गरेको छ । केही पार्टीले दैनिक अराजक गतिविधि बढाइरहेको भन्ने कुरा आएको उनले जनाएका छन् । नेपाल प्रहरीले सुरक्षा दिन नसकेको भन्दै उनले गुनासो गरे ।

उनले भने, “लघुवित्तको पनि गल्ती हुनसक्छ । लघुवित्तलाई कार्बाही गर्ने निकाय पनि छ । हामीले गल्ती गरे हामी स्वीकार्छौ । तर सरकारको नीतिमा रहेर काम गर्दा हामीलाई आक्रमण भएको छ ।”

लघुवित्त बैंकर्स संघका महासचिव राम बहादुर यादवले लघुवित्त माथिको आक्रमण नरोकिए बन्द गर्नुपर्ने अवस्था आउन सक्ने बताए ।

उनले भने,”अहिले गाउँ घरमा कुनै व्यक्तिले पनि ऋण नदिने र लघुवित्तले पनि दिन सक्ने अवस्था छैन । यहि अवस्था रहिरहे लघुवित्तलाई कसैले बन्द गर्नु पर्दैन हामी नै बन्द गर्छौ ।” सुरक्षाको आवश्यक व्यवस्था मिलाई दिनको लागि संघले प्रधानमन्त्रीसँग आग्रह गरेको छ ।