स्वास्थ्य बीमा स्वायत्त निकाय भनिए पनि जञ्जिरले बाँधिएको छ : कार्यकारी निर्देशक बसौला


काठमाडौँ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले आगामी आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म सबै स्थानीय तहमा स्वास्थ्य बीमा सेवा सुरु हुने बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा बोल्दै बसौलाले स्वास्थ्य बीमा स्वायत्त निकाय भएपनि अहिलेसम्म स्वायत्त रुपमा सञ्चालन हुन नसकेको बताए ।

उनले भने,“प्रथम सेवाबिन्दुका किटान भएपछि भन्ने छ, सायद हामी यो असार भित्रमा दुई वटा थप गर्दैछौँ । अब आउने आर्थिक वर्षको प्रथम त्रैमासिकमै सबै स्थानीय तहमा बीमा सेवा सुचारु हुन्छ ।”

स्वास्थ्य बीमालाई जञ्जिरले बाँधिएको भन्दै यसलाई खोलेर मात्रै प्रभावकारी रुपमा बोर्डले काम गर्नसक्ने उनको भनाई थियो ।

कार्यकारी निर्देशक बसौलाले स्वास्थ्य बीमामा ७ वर्षसम्म काजमा कर्मचारी ल्याएर काम गर्नुपर्ने अवस्था रहेको भन्दै काजमा कर्मचारी राखेर अपेक्षाअनुसारको काम गर्न नसकिने बताए ।

उनले भने,“ स्वास्थ्य बीमा स्वायत्त निकाय हो, तर स्वायत्त हुन सकेको छैन । जञ्जिरले बाँधिएको छ । जञ्जिरले बाँधेर दौडी भनेर सकिँदैन । ७ वर्षसम्म हामीसँग आफ्ना कर्मचारी छैनन्, स्वास्थ्य बीमा बोर्डले काजमा कर्मचारी ल्याएर कति दिन चलाउने, सबैको अपेक्षा अनुसार कसरी काम गर्ने ?”

कर्मचारी विनियमावली बनाएर पेस गरे पनि स्वीकृत नभएको र आफ्नो कर्मचारी नभएसम्म सोचेअनुसारको काम हुन नसक्ने उनको भनाई थियो ।

कार्यकारी निर्देशक बसौलाले सरकारले बीमालाई सहयोग गर्ने नभइ आगामी दिनमा बीमाले सरकारलाई सहयोग गर्नेगरी प्रभावकारी रुपमा काम गर्न आवश्यक नीति, नियम बनाउन आवश्यक रहेको बताए ।