देउराली सहकारीका अध्यक्ष लगायत सञ्चालकलाई पक्राउ गर्न सीआईबीलाई परिपत्र


काठमाडौँ । देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको फाइल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पुगेको छ । १०० भन्दा बढी बचतकर्ताले सहकारी विभागमा उजुरी दिएपछि मंगलबार विभागले उक्त फाइल सीआईबीमा पठाएको हो ।

यो उजुरी सीआईबीमा पुगेसँगै अब देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंलाई पक्राउ पुर्जी जारी हुन सक्ने बताइएको छ ।

बचतकर्तालाई बचत फिर्ताको झुटो आश्वासन र जग्गा दिने प्रलोभन देखाउने देउराली सहकारीबारे अब सीआईबीले अनुसन्धान गर्नेछ । संस्थाले २२ प्रतिशतसम्म ब्याज दिने प्रलोभन दिएर बचत संकलन गरेको थियो । संस्थाले गत असार १ गतेदेखि कार्यालय बन्द गरेको थियो । संस्थाको कारोबार बन्द भएपछि बचतकर्ताले असार २ गते महानगरीय प्रहरी परिसर ललितपुरमा पनि उजुरी दिएका थिए ।

यो सहकारीको सञ्चालक समितिको अध्यक्ष रविन्द्र चौलागाईं, उपाध्यक्ष अस्मिता खत्री, सचिव सुमन महर्जन र कोषाध्यक्षम मनोहर बस्नेत रहेका छन् । त्यसैगरी सदस्यहरू राजु महर्जन, आशालाल महर्जन र गोभरधन थापा रहेका छन् ।

देउरालीले लाखौ रुपैयाँ हिनामिना गरेको भन्दै बचतकर्ता माइतीघरमा धर्ना बसिरहेका छन् । उनीहरूका अनुसार यो सहकारीले विभिन्न हाउजिङ, घरजग्गा र सेयरमा लगानी गरेको छ ।