आज पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन हुँदै


काठमाडौं । गण्डकी प्रदेश सरकारको आयोजनामा मुख्यमन्त्रीहरूको भेलामा भाग लिन सातै प्रदेशका मुख्यमन्त्रीहरु आज पोखरा जाँदै छन् ।
मुख्यमन्त्रीहरूको सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्द्दाटन गर्ने कार्यक्रम रहेको छ ।

मुख्यमन्त्रीहरुको सम्मेलनमा प्रदेशका अधिकार, प्रदेशका उपलब्धि र एकीकृत विकासका विषयमा दफावार छलफल गरी घोषणा पत्र जारी गरिने गण्डकी प्रदेश सरकारकी प्रवक्ता तथा ऊर्जा मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिएकी छन् ।

शुक्रबार मुख्यमन्त्रीहरुको बैठकका साथै अन्तरप्रदेश समन्वय परिषद्‌को बैठक पनि बस्ने कार्यक्रम रहेको छ । दुई दिन हुने सम्मेलनमा मुख्यमन्त्रीसहित प्रदेशका मुख्यसचिवहरुलाई पनि सहभागी हुन निम्तो दिइएको छ ।

पोखराको होटेल ग्रान्डमा हुन लागेको सम्मेलनको प्रम दाहालबाट बिहान ११ बजे उद्घाटन गरिने कार्यक्रम रहेको छ ।

पोखरामा हुन लागेको यो दोस्रो मुख्यमन्त्री सम्मेलन हो । यस अघि गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको पहलमा भएको भेलाले आठ बुँदे घोषणापत्र जारी गरेको थियो ।