साताको पहिलो दिन नेप्सेमा २८ अंकको वृद्धि


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा हरियाली छाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक २८.३८ अंकले बढेर २०७७.७६ अंकमा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ६.३६ अंकले बढेर ३८८.५१ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य बढेको छ ।

आइतबार कारोबार रकमका आधारमा हिमालयन इन्स्योरेन्स सबैभन्दा अग्रस्थानमा रहेको छ । कम्पनीको १८ करोड ६० लाख ७२ हजार ६० रुपैयाँको कारोबार भएको छ ।

आजको दिन रावा इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ ।

त्यस्तै अपर तामाकोशी हाइड्रो पावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.६५ प्रतिशतले घटेको छ ।

कुल २८७ कम्पनीको ८३ लाख ५२ हजार ५ सय ७६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४ करोड २५ लाख ४३ हजार ९ सय ६१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।