ट्रेजरी बिल मार्फत २७.३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले २७ अर्ब रुपैयाँ भन्दा बढिको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । सरकारले आज असार २५ गते ट्रेजरी बिलमार्फत साढे २७ अर्ब ६० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने तयारीका साथ ट्रेजरी बिलको बोलकबोल खुला गरेको छ ।

केन्द्रीय बैंकले असार २६ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्नेछ।

राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब रुपैयाँ, १८२ दिनका लागि ६ अर्ब रुपैयाँ र ३६४ दिनका लागि ८ अर्ब रुपैयाँ ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ।

यी ट्रेजरी बिल क्रमशः साउन २३ गते, असोज २३ गते, पुस २४ गते र २०८१ असार २६ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिलको आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्नेछ ।

बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

यसअघि राष्ट्र बैंकले २८ दिन अवधिको ८ अर्ब, ९१ दिन अवधिको ७ अर्ब ७५ करोड रुपैयाँ, १८२ दिन अवधिको ५ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ८ अर्ब ९१ करोड ६५ लाख रुपैयाँ गरी कुल २९ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।