२० वर्षमा काठमाडौँ महानगरले खोल्यो बारूद खानाबाट बाटो


काठमाडौँ । नेपाली सेनाको स्वयम्भू बारुद खाना (जर्मन क्वाटर) को कम्पाउण्ड भित्रबाट मुल सडकसँग जोडिने सडक खुला भएको छ । २० वर्षपछि सडक खुले पछि स्थानियले खुसी व्याक्त गरेका छन् ।

जग्गा एकीकरण आयोजना सञ्चालनको २० वर्षे अवधिमा सडक खुल्न सकेको थिएन ।

अहिले क्वाटरको पूर्वतर्फ सिमानाको मुल सडकसँग जोडिने ६ मिटर र उत्तरतर्फ ३ मिटर चौडाइ भएको सडक खोलिएको आयोजना प्रमुख निर्मलराज बरालले जानकारी दिए ।

‘२०७९ साउन ५ गते महानगरपालिकाका प्रमुख एवं आयोजनाका जग्गा ब्यवस्थापन उपसमितिका संयोजक बालेन्द्र शाह (बालेन) ले फिल्ड निरीक्षण गरेका थिए । नेपाली सेनाले हकभोग गरिरहेको जमिनबाट सडक खोल्नका लागि प्रधान सेनापतिसँग भेटेर समाधानका लागि छलफल गरेपछि सडक खोल्ने वातावरण तयार भयो ।’ बरालले भने ।

काठमाडौँ महानगरपालिका वडा नं. १५ र १६ भित्रको पूर्वमा विष्णुमती नदी, पश्चिममा स्वयम्भु भगवान पाउ वनस्थली सडक, उत्तरमा बालाजु, वनस्थली चक्रपथ (ट्र्याक रोड) र दक्षिणमा स्वयम्भू-भगवान पाउ, विजेश्वरी हुँदै शोभा भगवती मन्दिरसम्म फैलिएको भूगोल आयोजना क्षेत्र हो ।

आयोजनाभित्र करिब १ हजार ३६९ रोपनी जग्गा रहेका काठमाडौँ महानगरले जनाएको छ ।

२०६० साल बैशाख ५ गते आयोजना क्षेत्रभित्रको जग्गा अधिग्रहण गर्न जिल्ला प्रशाशन कार्यालय काठमाडौंबाट सूचना जारी भएको थियो ।

सहरीकरणबाट विकास व्यवस्थापन र सुविधा वितरणमा समानता ल्याउन आयोजनाभित्रको ७२% प्रतिशत जग्गा आवासीय क्षेत्रका लागि छुट्याएर जग्गा विकासको काम थालिएको हो ।

यसमा २४.४७% सडकका लागि, २.००% पार्क तथा खुल्ला क्षेत्रका लागि, ०.५०% धार्मिक तथा सांस्कृतिक क्षेत्रका लागि र १.०३% भचाखुशी नदीका छुट्याइएको छ ।

आयोजना सुरु हुनु अघि त्यस क्षेत्रमा निजी प्रयोगकर्ताको जग्गाले ९२.४२% भाग ओगटेको थियो । सडकले ४.६५%, कुलोले १.१५%, पर्ती जग्गाले ०.३१% र भचाखुशी नदी १.४७% क्षेत्र ओगटेको थियो ।