स्मार्ट क्यु आर र नेपाल पे क्यु आर अन्तरआबद्ध भई सेवा सुचारु


काठमाडौँ । नेपाल पे क्यु आर र स्मार्ट क्यु आरले नेटवर्क स्तरमा अन्तरआबद्ध भई सेवा सुरु गरेका छन् । आइतबार भएको कार्यक्रममा विभिन्न बैंक तथा वालेटका प्रतिनिधिहरुले स्मार्ट क्यु आर र नेपाल पे क्यु आर दुवै नेटवर्कमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका हुन् ।

क्यु आर भुक्तानीलाई थप प्रवर्धन गर्न नेटवर्क स्तरको अन्तरआबद्धता सहित सञ्चालनका लागि सहकार्य भए संगै नेपाल पे क्यु आर मार्फत आबद्द भएका विभिन्न मोबाइल बेकिंग, वालेट र कनेक्ट आइपिएसका प्रयोगकर्ताहरूले स्मार्ट क्यु आर नेटवर्कमा आबद्द सम्पूर्ण दुइ लाख पचास हजार भन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्ने जनाइएको छ । यसै गरि , स्मार्ट क्यु आर नेटवर्कको मोबाइल बैंकिङ र वालेटहरूले नेपाल पे क्यु आर नेटवर्कमा आबद्द तिन लाख पचास हजार भन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्ने छन।

ग्राहक तथा व्यवसायी दुवै लाई नेटवर्क पहिचान मा समय नखर्ची सिधै भुक्तानी गर्न र लिन मिल्ने यो सुविधाले नेपालको डिजिटल भुक्तानी तथा अर्थतन्त्र मा टेवा पुर्याउने विश्वास लिइएको छ।

कार्यक्रममा स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (एससीटी) का प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान लगाएत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा सञ्चारमाध्यमका प्रतिनिधिहरुको उपस्थिति थियो ।