नेपाल उद्योग परिसंघको मेक इन नेपाल ‘स्वदेशी’ र दराजबिच समझदारी


काठमाडौँ । नेपाल उद्योग परिसंघको मेक इन नेपाल ‘स्वदेशी’ र अनलाइन प्लाटफर्म कम्पनी दराजबीच स्वदेशी अभियानमा आवद्ध सदस्यहरुको उत्पादन प्रबद्र्धन गर्न समझदारी भएको छ । मेक इन नेपाल ‘स्वदेशी’ उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयसँगको साझेदारीमा नेपाल उद्योग परिसंघले संचालन गरिरहेको अभियान हो ।

स्वदेशी औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य लक्ष्यका साथ परिसंघले सन् २०२१ देखि ‘मेक इन नेपाल–स्वदेशी’ अभियान संचालन गरिरहेको छ । सिएनआईले स्वदेशी अभियानमा जोडिएका उद्योगहरूका लागि नीतिगत वकालत गर्ने, नेटवर्किङ र बजारीकरणमा सहयोग गर्ने, स्वदेशी उत्पादनको प्रबद्र्धन गर्ने, कामदारहरूको सीप अभिबृद्धि गर्ने जस्ता काम गर्दै आएको छ ।

स्वदेशी सदस्यहरुको वस्तु तथा सेवाको बजारीकरणमा सहयोग गर्ने उद्देश्यले दराजसँग समझदारी गरिएको जनाइएको छ । यस समझदारी अनुुसार दराजले आफ्नो अनलाइन पोर्टलको ‘प्राउड्ली नेपाली च्यानल’ मा स्वदेशी सेक्सन बनाउने छ र स्वदेशी सदस्यहरुले आफ्ना वस्तुहरु यस सेक्सनमा राख्न पाउनेछन् । साथै दराजले स्वदेशीको प्रबद्र्धन गर्ने अन्य उपाय तथा सुविधाहरु दिने उल्लेख गरिएको छ ।

यो समझदारी अनुसार मेक इन नेपाल स्वदेशी अभियानमा आवद्ध सदस्यहरुको वस्तु दराजको प्लाटर्फममा राख्न तथा खरिद विक्री गर्न दराजले स्वदेशी सदस्यहरुलाई आवश्यक तालिम, परामर्श, जानकारी उपलब्ध गराउनेछ ।

मेक इन नेपाल स्वदेशी अभियानमा आवद्ध सदस्यहरुलाई बजारिकरण तथा नेटवर्किङमा सहयोग गराउने उद्देश्यले दराजसँग यो समझदारी गरिएको परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताए । स्वदेशी अभियानको उद्देश्य प्राप्तिका लागि नीतिगत वकालतसँगै अन्य थप प्रबद्र्धनात्मक कार्यलाई अगाडि बढाइने उनले उल्लेख गरे ।

स्वदेशी वस्तुहरुलाई प्रोत्साहन, प्रबद्र्धन गर्न स्वदेशी सदस्यहरुको वस्तुहरुलाई आफ्नो अनलाइन प्लाटफर्म उपलब्ध गराइएको दराजकी प्रबन्ध निर्देशक आँचल कुवरले बताइन् ।

समझदारीले स्वदेशी सदस्यहरुलाई आफ्नो उत्पादनको बजारीकरणमा सहयोग पुर्याउने विश्वास परिसंघ राष्ट्रिय परिषद् सदस्य हितेश गोल्छाले व्यक्त गरे ।

उक्त समझदारीमा परिसंघका महानिर्देशक दीपकराज जोशी र दराजकी प्रबन्ध निर्देशक आँचल कुवरले हस्ताक्षर गरेका छन् ।