श्रद्धाञ्जली सभामा दिएको अभिव्याक्तिले विवादमा तोसिमा, भन्छिन्- बाइट तोडमोड गरियो


काठमाडौँ । पूर्व स्वास्थ्य राज्यमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्की आफ्नै अभिव्यक्तिका कारण पुन: विवादमा मुछिएकी छन् ।

प्रधानमन्त्रीपत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिन माओवादी पार्टी कार्यालय पेरिसडाँडा पुगेकी कार्कीले केही मिडियासँग बोल्ने क्रममा व्यक्त गरेको अभिव्यक्तिले सामाजिक सञ्जाल तातेको छ । अधिकांशले उनले आक्रोश पोखेको र परिवेश चिन्न नसकेको भन्दै चर्को आलोचना गरिरहेका छन् ।

उनले बाेलेकाे एक क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जहाँ उनले भनेकी छन्, ‘प्रधानमन्त्रीज्यूले आफ्नै श्रीमतीका लागि केही गर्न सक्नुभएन । आफ्नै श्रीमतीलाई त समय दिन सक्नुभएन अथवा हेरचाह गर्न सक्नुभएन भने राष्ट्रका लागि के गर्नुहोला त भन्ने प्रश्नहरु पनि आउन सक्छ ।’

अभिव्यक्तिलाई लिएर चर्काे आलोचना भएपछि उनले बाइटलाई तोडमोड गरी राखिएको सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएकी छन् । यद्यपी उनले अभिव्यक्तिले कहिँ कसैको मनोभावनामा चोट पुग्न गएकोमा क्षमा मागेकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म स्वयम्ले पेरिस डाँडामा राखिएको उहाँको सम्मानीत पार्थीव शरिरमा फूल र श्रद्दा अर्पण गरेपछी केहि मिडिया कर्मी साथीहरुले लिनुभएको बाईटलाई तोड मोड गरी राखिएकोमा, पुरा भिडियो सुन्नुहुन आग्रह गर्न चाहन्छु साथै तोडमोड गरि राखिएको अभिव्यक्तिले कहिँ कसैको मनोभावनामा चोट पुग्न गएकोमा समेत क्षमा माग्दछु ।’