पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू, पेट्रोल प्रति लिटर ६ रुपैयाँ र डिजेल ४ रुपैयाँले घट्याे


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित बिक्री मूल्य प्रणाली लागू गरेको छ। निगमको सञ्चालक समितिको बैठकले आइतबार (आज) राति १२ बजेदेखि लागू हुनेगरी स्वचालित बिक्री मूल्य प्रणाली लागू गरेको हो।

स्वचालित मूल्य प्रणाली अनुसार आज रातदेखि नै लागू हुनेगरी पेट्रोल प्रति लिटर ६ रुपैयाँ, डिजेल ४ रुपैयाँ र एलपी ग्यास प्रति सिलिन्डर १० रुपैयाँले मूल्य घटेकाे छ। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै तराइकाे जिल्लामा पेट्रोलकाे मूल्य प्रति लिटर १६१.५० पैसा, भित्री मधेसका जिल्लामा १६३ रूपैयाँ र पहाडी जिल्ला १६४ रूपैयाँमा बिक्री मूल्य ताेकिएकाे छ।

यस्तै, डिजेलकाे मूल्य प्रति लिटर तराइकाे जिल्लामा १४३.५० पैसा, भित्री मधेसका जिल्लामा १४६ रूपैयाँ र पहाडी जिल्ला १४६ रूपैयाँ रहने जनाइएकाे छ ।

मट्टितेलकाे मूल्य तराइकाे जिल्लामा १४३.५० पैसा, भित्री मधेसका जिल्लामा १४६ रूपैयाँ र पहाडी जिल्ला १४६ रूपैयाँ ताेकिएकाे छ । हवाइ इन्धनकाे मूल्य १३६ रूपैयाँ स्थिर रहेकाे छ । निगमले ग्यासमा पनि प्रति सिलिन्डर १० रूपैयाँले घटेर १७९० रूपैयाँमा बिक्री हुने जनाइएकाे छ ।

नेपाल आयल निगमले स्वचालित बिक्री मूल्य प्रणाली लागू गर्दै डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत मुनाफा लिनेगरी कार्यविधि तयार भएको जनाएको छ। त्यस्तै एलपी ग्यासमा भने परल मूल्य नै कायम रहने निगमले जनाएको छ।

नेपालमा स्वचालित बिक्री मूल्य लागू भएपछि भारतीय बजारभन्दा नेपालमा पेट्रोलमा १३.२७ रुपैयाँ, डिजेलमा ९.९४ रुपैयाँ, हवाई इन्धनमा २३.८१ रुपैयाँ र एलपी ग्यासमा १३६.६० पैसा सस्तो हुने निगमले जनाएको छ।

Skip This