अवैधरुपमा भित्राइएको सुन जाँचपास गर्ने कर्मचारीलाई निलम्बन गर्दै भन्सार विभाग


काठमाडौं । अवैधरुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको सुन जाँचपास गर्ने कर्मचारीहरुलाई भन्सार विभागले निलम्बन गर्ने तयारी गरेको छ ।

बुधबार विमानस्थलबाट तस्करीको ८० किलो भन्दा बढि सुन भित्रिएपछि विभागले चेकजाँच गर्ने कर्मचारीलाई नै निलब्न गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

मंगलबार स्कुटर र मोटरसाइकल ‘ब्रेक सु’ को नामबाट करिब १ अर्ब रुपैयाँबराबरको तस्करीको सुन बरामद भएको थियो । सो सुनको भन्सार जाँचपास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकालले गरेको विभाग स्रोत बताउँछ।

विभागले उक्त सुन प्रकरणको छानविन गर्न समिति बनाउने भएको छ । जाँचपासमा संलग्नबाहेक अन्य कर्मचारीको पनि यो प्रकरणमा संलग्नताका विषयमा पनि समितिले छानबिन गर्ने स्रोतको भनाई छ ।

विशेष सुराकी आधारमा राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले भन्सार जाँचपास भएर सिनामंगलको सडकमा निकालि सकिएको अवस्थामा उक्त सुन बरामद गरेको थियो। यो प्रकरणमा संलग्न एक भारतीयसहित ६ जनालाई विभागले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।