दीपक मल्होत्राले भने -सुन आयात गर्ने व्यक्तिसँग मेरो कुनै चिनजान छैन


काठमाडौँ । व्यापारी दीपक मल्होत्राले मंगलबार त्रिभुवन विमास्थलबाट बरामद भएको सुनमा आफ्नो कुनै संलग्नता नभएको दावी गरेका छन् । उनले बिहिबार पत्रकार सम्मेलन गर्दै नयाँ पत्रिकामा भन्सार जाँचपास भएर बाहिरिएको सुन ट्याक्सीबाट वरामद भएको सम्बन्धी समाचारमा तस्वीरसहित संलग्नता रहेको भन्ने कपोकल्पित, भ्रामक तथ्यविनाको प्रसंग उल्लेख गरिएको बताएका छन् ।

मल्होत्राले सुन ल्याउने गिरोहलाई उम्काउनका लागि आफ्नो नाम जोडिएको बताए । उनले सुन आयात गर्ने व्यक्तिसँग आफ्नो कुनै चिनजान नरहेको समेत दावी गरेका छन् ।

उनले आफूले २०५५|५६ सालसम्म भन्सार तिरेर वैध तरिकाले सुनको व्यापार गरेको तर त्यसपछि त्यो छाडेर अन्य व्यापारमा लागेको बताए । अहिलेको प्रकरणमा आफ्नो संलग्नता पुष्टि भए नेपालको कानूनबमोजिम सजाय भोग्न तयार रहेको उनको भनाइ छ ।

उनले भने, “म यो खालको धन्दामा कहिल्यै छैन । मलाई अहिलेसम्म प्रहरी प्रशासनबाट सोधपुछ पनि भएको छैन । तर, साढे ६ बजेबाट साथीभाइको फोन आइरहेको छ । मैले सबै फाेन रिसिभ गरेकाे छु ।”

मलहोत्राले अहिले आर्थिक मन्दीका कारण व्यापार व्यवसाय नहुदाँ मिडियालाई विज्ञापन दिन सक्दा पनि आफूलाई लक्षित गरेर समाचार प्रकाशित गरिएकाे बताए । उनले भने, “अहिले व्यापारको अवस्था राम्रो छैन त्यो कारणले पनि मैले विज्ञापन दिन सकेको अवस्था छैन । व्यवसाय राम्रो हुदैँ गएपछि मेरो तर्फबाट सबैलाई सहयोग हुनेछ ।’’

उनले आफू कुनै अवैध धन्दामा संलग्न नरहेको र त्यसबारे सोच्दा पनि नसोचेको बताए।