भारतको गैर-बासमती चामल निकासी प्रतिबन्धः ककसलाई पर्छ असर?


काठमाडौं । भारत सरकारले गैर-बासमती चामलको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि यसको विश्वभरि नै तरङ्ग उत्पन्न भएको छ । अमेरिका, क्यानडा र अष्ट्रेलियामा रहेका गैरआवासीय भारतीयहरू चामल किन्न त्यहाँका ग्रोसरी स्टोरहरूमा लाइन लाग्न थालेपछि अत्यधिक सञ्चयको जोखिम बढेको समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।

भारत विश्वकै सबैभन्दा ठूलो चामल निर्यतकर्ता देश हो, विश्वभरिको कुल चामल निर्यातमा भारत एक्लैको हिस्सा ४० प्रतिशत छ । भारतले आर्थिक वर्ष २०२२/२३ मा कुल ११ अर्ब १४ करोड ३२ लाख अमेरिकी डल‌रबराबरको कुल २ करोड २३ लाख ४७ हजार मेट्रिक टन चामल निर्यात गरेको त्यहाँको डायरेक्टरेट जनरल अफ कमर्सियल इन्टेलिजेन्स एन्ड स्ट्याटिस्टिक्स (डीजीसीआईएस)ले उल्लेख गरेको छ ।

कुल निर्यातको ५७ प्रतिशत हिस्सा गैर-बासमती चामलले ओगट‍छ । भारतीय बासमती चामलका लागि साउदी अरब, इरान, इराक, यूएई, यमन, अमेरिका, कुबेल, यूके, ओमन, र जोर्डन प्रमुख बजार हुन् भने गैर-बासमती चामलका लागि  बेनिन, चीन, सेनेगल, आइभरी कोस्ट, टोगो, ग्युनिया, बंगलादेश, नेपाल, भियतनाम केन्यालगायतका मुलुक हुन् ।

नेपालसहितका यी दस मुलुकले कुल भारतीय गैर-बासमती चामल निर्यातको ५५ प्रतिशत हिस्सा ओट्छन् । भारतीय गैर-बासमती चामलको खरिदकर्ताका रुपमा चीन प्रवेश गर्नुपूर्व नेपाल भारतीय चामलको चौथो प्रमुख बजार थियो । अहिले आठौं ठूलो खरिदकर्ता मुलुक बनेको छ ।

भारतका प्रमुख चामल बजारहरूमध्ये नेपालबाहेक अधिकांश अफ्रिकी राष्ट्रहरू छन् । भारतको निर्यात प्रतिबन्धले ती मुलुकहरूमा खाद्य संकटसमेत उत्पन्न हुनसक्ने समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।

भारतको चामल निर्यात प्रतिबन्धको विश्वव्यापी खाद्य मूल्यमा असर पर्ने सक्ने भन्दै खाद्य सुरक्षामा काम गर्दै आएका संस्थाहरूले चिन्ता जनाएका छन् । वाणिज्य सचिव मधुकुमार मरासिनीले निर्यात प्रतिबन्धका कारण नेपालमा पर्नसक्ने असरबारे सरकारले गम्भीर रुपमा हेरिरहेको बताएका छन् ।

डीजीसीआईएसको तथ्यांकअनुसार सन् २०१९-२० को तुलनामा २०२०-२०२१ मा नेपालको चामल आयात एकै पटक दोब्बर भइ १२ लाख ७६ हजार २५६ मेट्रिक टन पुगेकोमा २०२१-२०२२ (अप्रिल-मार्च) मा भारतबाट नेपालको गैर-बासमती चामलको आयात अझ बढेर १३ लाख ८५ हजार ६५२ मेट्रिक टन पुग्यो । यो हालसम्मकै उच्च परिणामको आयात हो । सन् २०२२-२०२३ मा आयात परिमाण अझै घटेर ७ लाख ६५ हजार ५३४ मेट्रिक टनमा आयो । यो अघिल्ला पाँच वर्षको औसत बराबरी हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९-८० मा  ५४ लाख ८६ हजार ७४२ टन धान उत्पादन भएको छ, यो अघिल्लो वर्षभन्दा  झन्डै ७ प्रतिशतले बढी हो । मन्त्रालयका अनुसार आव २०७८-७९ पहिलो पटक धानको उत्पादन झन्डै ९ प्रतिशतको उच्चदरले घटेको देखियो, सो वर्ष धानको उत्पादन ५१ लाख  ३० हजार ६२५ मेट्रिक टन भएको मन्त्रालयको संशोधित विवरणले देखाएको छ ।

स्मरणीय के छ भने पञ्चायतकालको अन्तिम समय २०४५-४६ सालमा नेपालमा धानको उत्पादन ३५ लाख २ हजार १६० टन थियो भने उत्पादकत्व प्रतिहेक्टर २.४० मेट्रिक टन रहेको थियो । हाल धानको उत्पादकत्व  प्रतिहेक्टर ३.७९ मेट्रिक टन पुगेको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् 9नार्क)ले विकास गरेका अधिक उत्पादन दिने जातहरूको विकास, सिचाइँ सुविधालगायतका कारणले धानको उत्पादन र उत्पादकत्व बढेको हो । नेपालमा आन्तरिक रुपमा उत्पादन हुने औसत ५६ लाख र आयात हुने औसत ७ लाख मेट्रिक टन गरी औसत निकाल्दा एक जना नेपालीले वार्षिक औसत २०३ किलो चामल खपत गर्ने गरेको देखिन्छ । जुन अस्वभाविक देखिन्छ ।

एक कृषिअर्थशास्त्री भन्छन्- नेपालबाट अनौपारिक माध्यमबाट मोटा धान भारततर्फ सस्तो मूल्यमा जान्छ र उताबाट चिल्याएको चामल आउँछ । यसले धानचामलको आयात बढी देखिएको हो ।