मौद्रिक नीतिले अलमल पार्दा सेयरबजार ओरालो


काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याएकै दिन उछाल आएको सेयरबजारमा आज भने दोहोरो अंकको गिरावट आएको छ ।

हिजो कारोबारको सुरुवातदेखि सामान्य उतारचढाव आएको नेप्सेमा मौद्रिक नीति सार्वजनिक भएपछि ६२ अंकको उछाल आएको थियो भने आज २६ अंकको गिरावट आएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिकनीतिको बुँदानम्बर १०६ मा सेयरकर्जाको जोखिम भारमा पुनरावलोकन गरिने भने पनि लगानीकर्ताहरूको मनोबल उच्च बनेको सेयरबजारका विज्ञहरू बताउँछन् ।

लगानीकर्ताले सेयर कर्जाको जोखिमभार घट्छ भन्ने आस गरेपनि ३ बजे गरिएको पत्रकार सम्मेलन मार्फत गर्भनर महाप्रसाद अधिकारीले जोखिम भारमा कुनै परिर्वतन नभएको प्रष्ट पार्दै भ्रममा नपर्न आग्रह गरे ।

गर्भनरले सेयर धितो कर्जाको २५ लाखसम्मको सेयर कर्जालाई ५० लाख पुर्‍याएर जोखिम भार १०० प्रतिशत कायम गरिएको प्रष्ट पारे ।

५० लाख भन्दा माथिको कर्जामा जोखिभार १५० प्रतिशत यथावतनै रहेको जानकारी गराएपछि लगानीकर्ताहरूको मनोबल घटेको देखिन्छ ।

सेयरबजारमा लगानीकर्ताको मनोबलले कति फरक पार्दछ हिजोको मौद्रिक नीतिमा देखिएको सेयरबजारका जानकारहरू बताउँछन् ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिले सेयरबजारलाई सम्बोधन नगरेको लगानीकर्ता छोटेलाल रौनियारले बताए ।

२५ लाख रुपैयाँसम्म सेयर धितो कर्जा लाई ५० लाख सम्म बढाएर जोखिम भार १०० प्रतिशत कायम गरिएको प्रति रौनियारले भने “सेयरबजारप्रति राष्ट्र बैंक खुकुलो भएको छैन अझै हात कसेर दिउँ कि नदिउँ जस्तो गरेको देखिन्छ । लगानीकर्ताहरू खासै उत्साहित हुने ठाउँ नभए पनि समग्रमा ठिकै छ ।”

आफ्ना मागहरू सम्बोधन नभएपनि समग्रमा मौद्रिक नीति सकरात्मकै रहेको रौनियारको भनाई छ ।

“अहिलेको अवस्थामा मौद्रिक नीति भन्दा पनि आर्थिक सूचकहरू सकारात्मक रहेका छन् । बैंकहरूमा पैसा थुप्रिएको छ । यस्तो अवस्थामा बजार तत्काल घट्ने देखिदैन,” रौनियारले भने। पछिल्लो समय बजारमा टेडर्सहरूको हावी भएको हुनाले उतारचढाव देखिएको उनको भनाई छ ।

मौद्रिक नीतिले सेयर बजारको लागि धेरै आश गर्ने ठाउँ केही नभएको नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालकाे टिप्पणी छ । उनले भने,“लगानीकर्ताले मौद्रिक नीति निकै नकारात्मक आउँछ कि भन्रे सोचेका थिए तर त्यो खालको नकारात्मक भने आएको छैन । त्यस्तैले सम्रगमा हेर्दा मौद्रिक नीति नकारात्मक पनि छैन र उत्साहित हुने ठाउँ पनि कही छैन ।”

धेरै पटक राष्ट्र बैंकमा गएर सुझाव दिएपनि कुनै कुरा सम्बोधन हुन नसकेको लम्सालले बताए ।

मौद्रिक नीतिको बुँदा नम्बर १०६ मा उल्लेख गरिएको ‘जोखिमभार पुनरावलोकन’ले लगानीकर्ता उत्साहित हुँदा सेयरबजार भारी अंकले बढेको उनको भनाई छ ।

पछि गर्भनरले यसमा कुनै परिर्वतन नगरिएको प्रष्ट पारेपछि त्यस्तो प्रभाव आजको बजारमा देखिएको लम्सालले बताए ।

“उक्त बुँदाका अनुसार कर्जाको प्रवाह बढ्छ र सेयर बजारमा कर्जा प्रवाह बढ्ने बित्तिकै केही न केही मात्रामा बजार बढ्छ भन्रे हो । जुन कर्जा २५ लाखदेखि बढाएर ५० लाखसम्म बनाएको छ । त्यसले छुने तप्का एकदम सानो छ,” उपाध्यक्ष लम्सालले भने ।
यद्यपी बजार अहिले तत्कालै घटेर जाने अवस्था नरहेको उनको भनाई छ ।

लम्सालका अनुसार बैंकको मूल्य पनि एकदम तल गएकाले अलिकति ‘रिकभर’ हुन्छ होला र बजारपनि तल्लो स्तरमा नै गएकाले डराउन पर्ने अवस्था छैन । केही नभएपनि सिएआर घटेकोले तरलता पनि त्यति धेरै संकुचन भएको अवस्था छैन । यस्तो अवस्थामा बजार सकारात्मक नै देखिन्छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयरमापक सूचक नेप्से परिसूचक २६.६६ अंकले घटेर २२००.५० अंकमा पुगेको छ ।
सेन्सेटिभ परिसूचक पनि ६.१४ अंकले घटेर ४१८.७८ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये २ वटा उपसमुहको सेयर बढेको छ भने बाँकी ११ उपसमुहको सेयरमूल्य घटेको छ ।

सोमबार कारोबार रकमका आधारमा नेपाल रि इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २५ करोड ५६ लाख ६९ हजार ८ सय ४१ रुपयाँको कारोबार भएको छ ।

आज किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज नबिल ग्रोथ फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । फण्डको मूल्य ६.९३ प्रतिशतले बढेको छ ।

कुल २६५ कम्पनीको २ करोड ९लाख ७९ हजार ८ सय ८७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड ७६ लाख ८ हजार ८ सय १० रुपैयाँको कारोबार भएको छ ।