१५ औं वार्षिकोत्सवमा ज्योति विकास बैंकले ल्यायो ‘सुपर स्मार्ट सेभिङ एकाउन्ट’


काठमाडौँ । ज्योति विकास बैंक १६ औं वर्षमा प्रवेश गरेको छ । बैंकले श्रावण ९ गते स्थापनाको १५ औं वार्षिकोत्सव कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरी मनाएको हो ।

बैंकले १५ औं वार्षिकोत्सवको अवसरमा १५ रुपैंयामा अतुलनीय विशेषता सहितको “सुपर स्मार्ट सेभिङ एकाउन्ट” योजना सार्वजनिक गरेको छ ।

यहि अवसरमा साउन १४ सम्म ज्योति विकास बैंकको खाता इसेवामा लिंक गर्ने सम्पूर्ण ग्राहकहरुलाई रु.१५० बोनस तथा खल्ती एपसँग पहिलो पटक ज्योति विकास बैंकको खाता लिंक गर्ने ग्राहकले रु. १०० बोनस प्राप्त गर्ने छन् ।

बैंकले वार्षिकोत्सवको दिन नख्खुस्थित १२१ औं शाखाको पनि औपचारिक समुद्घाटन समेत गरेको छ । अध्यक्ष हरि चन्द्र खड्काले डिजिटल प्रविधिमार्फत ताम्रपत्र अनावरण गरी शाखाको समुद्घाटन गरेका थिए । सोही क्रममा उपस्थित सबैलाई नख्खु शाखाको डिजिटल माध्यमबाट भर्चुअल टुर गराइएको थियो । नख्खु शाखा उद्घाटन पश्चात् उपत्यका र उपत्यकाबाहिर गरी ज्योति विकास बैंकको १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम पुगेको बैंकले जनाएको छ ।

१५ औं वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु समेत आयोजना गरिएको थियो । रक्तदान, वातावरण सरसफाई सम्बन्धि कार्यक्रम, वृक्षारोपण जस्ता विभिन्न कार्यक्रमहरु आयोजना गरिएको थियो ।