डिजिटल विज्ञापन बोर्ड नियमन गर्दै काठमाडौँ महानगर, मापदण्ड विपरीतका बोर्ड आफैं हटाउन निर्देशन


काठमाडौं । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र मापदण्डअनुरुप डिजिटल विज्ञापन बोर्ड राख्ने प्रक्रियामा आउन र मापदण्ड विपरीतका बोर्ड आफैं हटाउन सार्वजनिक सूचना जारी गरेको छ ।

महानगरपालिकाभित्र डिजिटल विज्ञापन गर्न चाहने व्यक्ति वा संस्थाले विज्ञापन योग्य अन्य संरचनाको स्वामित्व वा लिजमा लिएको भोगाधिकार प्राप्त व्यक्तिले त्यस्तो घरजग्गा, जग्गा वा अन्य भौतिक संरचनामा कुनै वस्तु तथा सेवाको प्रचारप्रसार गर्न इच्छुक भए ३५ दिनभित्र महानगरपालिकामा निवेदन दिइ अनुमती लिनुपर्ने जनाएको छ ।

“काठमाडौँ महानगरपालिकाभित्र डिजिटल विज्ञापन गर्न चाहने व्यक्ति वा संस्थाले काठमाडौं महानगरपालिका वाह्य विज्ञापन नियमन निर्देशिका, २०७९ को परिच्छेद २ को दफा ३ की व्यवस्था अनुसार महानगरपालिका क्षेत्रभित्र घरजग्गा, जग्गा वा बाह्य विज्ञापन योग्य अन्य संरचनाको स्वामित्व वा लिजमा लिएको भोगाधिकार प्राप्त व्यक्तिले त्यस्तो घरजग्गा, जग्गा वा अन्य भौतिक संरचनामा कुनै वस्तु तथा सेवाको प्रचारप्रसार गर्न इच्छुक भएमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कार्यालय समयमा तोकिएको ढाँचामा निवेदन पेस गर्नुहुन सूचित गरिन्छ,” महानगरले जारी गरेको सूचनामा भनिएको छ ।

निर्देशिकाले तोकेको मापदण्ड पूरा गरेका विज्ञापन दातालाई निवेदन दिन तथा मापदण्ड विपरीत राखिएका बोर्ड निकाल्ल अनुरोध गरेको छ ।