माग पूरा नभएको भन्दै सिठ्ठी जुलुस निकाल्दै निर्माण व्यवसायी


काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूले सम्पन्र गरिसकेको कामको भुक्तानी कुनैपनि बहानामा रोक्न नमिल्ने बताएका छन् ।

महासंघले आज (आइतबार) गरेकाे पत्रकार सम्मेलन बाेल्दै सिंहले सरकारले ऋण उठाएर, अनुदान मागेर, वैदेशिक ऋण लिएर वा र आन्तरिक ऋण उठाएर भए पनि निर्माण व्यवसायीहरूले पाउनु पर्ने भुक्तानीको सुनिश्चिता गर्नु पर्ने बताएका हुन् ।

उनले अर्थमन्त्री डा। प्रकाशशरण महतले निर्माण व्यवसायीहरूलाई सरकारले तत्काल भुक्तानी दिन नसक्ने अभिव्यक्ति दिएको भन्दै महतले वर्तमान सरकार विगतको सरकारको निरन्तरता हो भन्ने कुरा विर्सन नहुने बताए ।

महासंघले सरकारसँग सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, नेपाल सरकारबाट जारी म्याद थपको आदेशमा संशोधन गरि सम्पूर्ण आयोजनाहरूको एकमुष्ट रूपले म्याद थप गर्न पुन :आदेश जारी गर्नुपर्ने, सरकारबाट भुक्तानी नभएसम्मको लागि चेक बाउन्स र बैंक ग्यारेण्टी जफत गर्ने लगायतका कारबाही रोक्नुपर्ने, बीमाको प्रिमियम दरमा भएको वृद्धिलाई खोरज गर्नुपर्ने जस्ता मागहरू राखेको छ ।

अध्यक्ष सिंहले निर्माण व्यवसायीको ५० अर्ब र म्याद थप गर्ने ३ हजार आयोजनाको ४ खर्ब रुपैयाँ भुक्तानी गर्न सरकारले नसक्ने अर्थमन्त्रीले स्वीकार गर्न राम्रो भएको बताए । उनले स्वीकार गरेर मात्रै नहुने भन्दै विगतको सरकारले गरेको कमजोरीको अपनत्व लिँदै भुक्तानीको व्यवस्था गर्नु पर्ने जिम्मेवारी अर्थमन्त्रीको भएको जनाए ।

मुलुकमा समस्या भएकाले अर्थमन्त्री डा। महतले निर्माण व्यवसायीहरूलाई भुक्तानी दिन नसक्ने यर्थात कुरा व्यक्त गरेको सिंहको बुझाइ छ ।

“तर विगतका वर्षहरूमा विगतका सरकारहरूले गरेका कमी कमजोरीलाई यो सरकारले त्यसको अपनत्व गर्दिन। यो सरकार विगतका सरकारको निरन्तरता हो भन्ने कुरा अर्थमन्त्रीले विर्सनु हुन्न,” उनले थपे, “यसको निकास दिने जिम्मेवारी अर्थमन्त्रीको हो । ४ खर्बको योजनाहरु एक वर्ष म्याद थप गर्दै गर्दा जसरी निर्माण कम्पनीले काम गर्ने काम गर्ने कार्ययोजना बनाउँछ त्यसै गरेर काम गरेको भुक्तानीको सेडुल बनाएर व्यवसायीहरुलाई विश्वस्त पार्नु पर्छं ।”

सरकारले अहिले म्याद थप गर्ने ३ हजार आयोजनाको ४ खर्ब रुपैयाँ भुक्तानी गर्न नसक्ने अर्थमन्त्रीले स्वीकारेको चर्चा गर्दै उनले भुक्तानीको व्यवस्थापन गर्न नसक्ने भए त्यस्ता आयोजनाहरूलाई खारेज गर्न माग गरे ।

त्यस्तै महासंघले आफूहरूको माग सरकारले पूरा नगरेको भन्दै साउन १४ गतेदेखि एक हप्तासम्म विभिन्र सरकारी निकायको अघि गएर धर्ना दिएका थिए भने उनीहरूको पहिलो चरणको आन्दोलनले माग पूरा नभएपछि उनीहरूले भोलि (सोमबार)देखि पुन दोस्रो चरणको आन्दोलनको कार्यक्रमहरू गर्ने घोषण गरेको छन् ।

महासंघका अनुसार भोलि सोमबार देखि साउन २७ गते, शुक्रबारसम्म सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टी सहित हरेक दिन बिहान ९ बजेबाट महासंघदेखि संसद भवनसम्म सिठ्ठी जुलुस गरी संसद भवन अगाडि कोण सभा गर्ने र संसद भवनदेखि माइतीघर मण्डला, बबरमहल हुँदै हनुमानस्थानमा सिठ्ठी जुलुस सहित धर्ना दिइने छ ।

त्यस्तै दोस्रो चरणको माग पूरा नभए महासंघले तेस्रो चरणको आन्दोलनको सेमत घोषण गरेको छ । जसमा अत्यावश्यक बाहेकका सबै निर्माण कार्यहरू अनिश्चितकाल बन्द गर्ने, विकासका विभागहरूमा पालैपालो बिहान १० देखि ११ बजेसम्म एक घन्टा धर्ना तथा तालबन्दी गर्ने र थानकोट नाका र भक्तपुरको साँगा मुख्य नाकाहरूमा आलो पालाे गरी दैनिक रूपमा एक घन्टा सडकमा चक्का जाम गरी नाका बन्द गर्ने घोषण महासंघले गरेको छ ।