महिला औद्योगिक पार्क अवधारणा कसैले रोक्न सक्दैन: अर्थमन्त्री डा. महत


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढेको बताएका छन् । शुक्रबार दक्षिण एसियाली महिला मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढिसकेको र यसलाई कसैले रोक्न नसक्ने बताएका हुन् ।

“सुन्दा यो सामान्यजस्तो लाग्छ, पछि मान्छेले थाहा पाउँछन्, यो दुरगामी अवधारणा हो । महत्वपूर्ण सुरुवात भएको छ, यसलाई कार्यान्वयनमा लैजानुपर्छ । देशैभरि यसको सञ्जाल विस्तार गर्नुपर्छ,” उनले भने ।

“नेपालमा धेरै ठूलो संख्यामा युवाहरु विदेशिन्छन् । महिलाको तुलनामा पुरुषको संख्या ठूलो छ । त्यसैले यहाँ कसैले स्थिरता दिनसक्छन् भने त्यो महिलाहरुले मात्र दिन सक्छन्” मन्त्री डा. महतले भने, “ग्रामीण र आधुनिक अर्थतन्त्रमा महिलाको भूमिका वृद्धि भइरहेको छ । यसलाई राज्यले प्राथमिकताका साथ प्रवद्र्धन गर्नुपर्छ ।”

उनले देशैभरि लघु उद्यम व्यवसायमा महिलाहरुको सहभागिता रहेको बताए । घर–घरमा उत्पादन भएका विभिन्न सामाग्रीहरु व्यवसायीले निर्यात गरिरहेको उनले उल्लेख गरे । मन्त्री डा. महतले भने,“अहिले कृषि व्यवसायमा धेरै ठूलो सम्भावना देखिएको छ । डिटिजल संसारले एउटा अवसर पनि दिएको छ । बजारिकरण सहजै रुपमा गर्न सकिन्छ । महिला उद्यमीहरुले उत्पादन गरेको वस्तुको प्रविधिलाई भरपूर उपयोग गरेर बजारीकरण गर्नुपर्छ ।”

सा–सानो स्केलमा उत्पादन भएको वस्तुलाई संकलन गरेर उपभोक्तामाँझ पुर्याउनको लागि सरकारले सहयोग गर्ने उनले बताए ।