राष्ट्रिय साइबर सुरक्षा नीति २०८०: साइबर सुरक्षा बिमाको व्यवस्था गरिने (पूर्णपाठ)


काठमाडौँ । सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० ल्याएको छ । पछिल्लो समय सुचना प्रविधिको बढ्दो विकास, बढ्दो प्रयोगसँगै सूचना प्रविधि प्रणालीमाथि अनाधिकृत पहुँचको समस्या बढ्दै गएपछि सरकारले राष्ट्रिय सुरक्षा नीति ल्याएको हो ।

सरकारले सूचना प्रविधिलाई भरपर्दो बनाउनको लागि सुरक्षा नीति ल्याएको जनाएको छ । सूचना प्रविधिमा समस्या आइरहेपनि त्यसको लागि भरपर्दो कानुन नहुँदा समस्या भइरहेको अवस्थामा सरकारले नीति ल्याएको हो ।

नेपालमा सइबर सुरक्षाको लागि प्रभावकारी कानुनी व्यवस्था तथा संस्थागत संरचना नहुनु, भौतिक तथा प्राविधिक पूर्वाधारको कमी, दक्ष जनशक्ति तथा अनुसन्धानको कमी, सचेतनाको कमी र आन्तरिक तथा बाह्य समन्वयको कमी हुनु नेपालको समस्या रहेको थियो । सरकारले यसलाई मध्यनजर गर्दै राष्ट्रिय साइबर सुरक्षा नीति २०८० ल्याएको छ ।

सरकारले नीतिमा साइबर आक्रमण तथा अपराधबाट सिर्जना हुने जोखिम बहन गर्नको लागि साइबर सुरक्षा बिमाको व्यवस्था गरिने उल्लेख गरिएको छ । यसबाट साइबर जोखिम बहन गर्नको लागि बिमा गरिने जनाइएको छ ।

सूचना प्रविधिको सामानको प्रयोग सम्बन्धी मापदण्ड तयार गरिने भएको छ । गुणस्तरीय सफ्टवेयर, हार्डवेयर, नेटवर्क डिभाइसको निर्माण, आयात तथा प्रयोग सम्बन्धी मापदण्ड लागू गरिने उल्लेख गरिएको छ ।

सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापना गर्ने भएको छ । नीतिमा साइबर सुरक्षाको विषयमा अनुसन्धान तथा विकास, साइबर सुरक्षा प्रवद्र्धन, जनचेतना अभिवृद्धि, साइबर सुरक्षा सम्बन्धी पूर्वतयारी, रोकथाम, पहिचान, प्रतिकार्य तथा पुनर्लाभ गर्न चौबिसै घण्टा सम्पर्क निकायकोरुपमा कार्य गर्न, डिजिटल फोरेन्सिक अनुसन्धान गर्न तथा साइबर सुरक्षासँग सम्बन्धीत निकायको नियमनकारी निकायको रुपमा समेत कार्य गर्ने गरी राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने उल्लेख गरिएको छ ।