काठमाडौँ र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोटसहित नौ जना पक्राउ


काठमाडौँ । काठमाडौँ र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोटसहित नौ जना पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरले आज पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

हिजो लु १ प ५ नम्बरको पर्यटक बसलाई नाकढुंगा चेकपोष्टमा जाँच गर्ने क्रममा डिक्कीमा चाउचाउको कार्टुनमा प्याक गरी राखिएकोे अवस्थामा नक्कली नोट बरामद गरिएको परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

नक्कली नोट पक्राउ पछि बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएर सोधुपुछ गर्दै जाने क्रममा बालाजु बसपार्क र भक्तपुरको बुढाथोकी गाउँबाट थप १७ लाख दुई हजार रुपैँया हजार दरका नक्कली नोट बरामद गरिएको थियो ।

एसएसपी कार्कीले भने,“ उनीहरूबाट ५२ लाख ७५ हजार रुपैयाँ नक्कली नोट बरामद गरिएको छ । उनीहरुलाई मुद्रा कसुरमा मुद्दा दायर गरिनेछ ।”

सिन्धुपाल्चोकका अर्जुन सुवेदीको डेराबाटे नक्कली नोट बरामद गरिएको थियो ।

नक्कली नोटको कारोबारमा सिन्धुपाल्चोकका अर्जुन सुवेदी, सुशील कार्की, मिलन भण्डारी, शिव भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपाली रहेकी छन् । उनीहरूलाई मुद्रा कसुर अन्तरगत मुद्दा चलाउने पनि प्रहरीले जनाएको छ ।