काठमाडाैँ । जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक दिनेश रजौरियाले सार्वजनिक खरिद नियमावली, २०६४ को १६ औँ संशोधनअनुसार खरिद प्रक्रिया अघि बढाउन सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बोलपत्र रद्ध गर्ने निर्णय गरिएको बताएका छन् ।
प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा आयोजनाको ठेक्का प्रक्रिया तथा बोलपत्र रद्ध गर्ने निर्णयबारे जानकारी दिँदै रजौरियाले प्रचलित कानूनी व्यवस्था पालना, पारदर्शिता र प्रतिष्पर्धात्मक खरिद प्रक्रिया सुनिश्चित गर्न उक्त निर्णय गरिएको स्पष्ट पारे ।
उनले आफू जलस्रोत तथा सिंचाई विभागको महानिर्देशकको जिम्मेवारीमा आउनुभन्दा अगावै आयोजनाको ठेक्का प्रक्रिया शुरु भइसकेको बताउँदै सम्बन्धित आयोजना कार्यालयले लागत अनुमान तथा बोलपत्रसम्बन्धी आवश्यक कागजात तयार गरी विभागीय स्वीकृति प्राप्त गरेपछि २०८३ जेठ २५ गते सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत हेडवकर््स, डिसेन्डर, पावरहाउस लगायतका संरचना निर्माणका लागि बोलपत्र आह्वान गरेको जानकारी दिए ।
महानिर्देशक रजौरियाले आफूले २०८३ असोज ५ गते विभागको जिम्मेवारी सम्हाल्दा बोलपत्रको प्राविधिक प्रश्ताव खोल्ने कार्य सम्पन्न भइसकेको र मूल्यांकन प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए ।
उनकाअनुसार त्यसबेला आयोजना कार्यालयबाट प्राविधिक प्रस्तावको मूल्यांकन प्रतिवेदन स्वीकृत गरी आर्थिक प्रस्ताव खोल्ने निर्णयका लागि फाइल पेश भएको थियो ।
उक्त अवस्थामा स्वीकृत बोलपत्रसम्बन्धी कागजातमा उल्लेख गरिएका मूल्याङ्कनका आधार तथा मापदण्डअनुसार तयार पारिएको प्रतिवेदन अध्ययन गरी आफूले स्वीकृति प्रदान गरेको र आर्थिक प्रस्ताव खोल्ने निर्णयसमेत गरेको उनले बताए । तर, बोलपत्र प्रक्रियाका क्रममा सार्वजनिक खरिद नियमावली, २०६४ को १६ औँ संशोधनसँग सम्बन्धित महत्वपूर्ण कानूनी तथा प्रक्रियागत विषय उठेको उनको भनाइ छ ।
बोलपत्रको प्राविधिक प्रश्ताव खोल्ने तथा मूल्यांकन गर्ने चरणमा १६ औँ संशोधनअनुसार बोलपत्रसम्बन्धी कागजात संशोधन गरी नयाँ व्यवस्थाअनुकूल बनाइएको अवस्था नरहेको विषय जानकारीमा आएको उनले बताए ।
यस विषयमा आवश्यक छलफल तथा परामर्श गरिएको जानकारी दिँदै रजौरियाले पूर्वाधारमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको उपस्थितिमा आफू लगायत सम्बन्धित पदाधिकारीहरूबिच विभिन्न चरणमा छलफल भएको बताए ।
ती छलफलमा बोलपत्रसम्बन्धी कागजातलाई सार्वजनिक खरिद नियमावलीको १६ औँ संशोधनअनुकूल बनाउनुपर्ने विषयलाई विशेष रूपमा उठाइएको उनको भनाइ छ ।
महानिर्देशक रजौरियाले बोलपत्र आह्वान गर्दा सार्वजनिक खरिद नियमावली, २०६४ को १५ औँ संशोधनअनुसारको व्यवस्था अवलम्बन गरिएको जानकारी दिए । उक्त व्यवस्थाअनुसार बोलपत्रको मूल्यांकन एभरेज बिड प्राइस (औसत बोलपत्र मूल्य) का आधारमा हुनेगरी बोलपत्रसम्बन्धी कागजात तयार गरिएको उनले बताए ।
तर सार्वजनिक खरिद नियमावलीको १६ औँ संशोधनले एक अर्ब ५० करोड रूपैयाँभन्दा बढी लागतका बोलपत्रका सम्बन्धमा रेटेड पोइन्ट क्राइटेरिया (अंकभारमा आधारित मूल्यांकन विधि) अपनाउनुपर्ने व्यवस्था गरेको उनले उल्लेख गरे ।
उनकाअनुसार उक्त संशोधन २०८३ भदौ ३ गतेदेखि लागू हुनेगरी राजपत्रमा प्रकाशित भएको थियो । यता आयोजनाको प्राविधिक प्रस्ताव खोल्ने मिति २०८३ भदौ १० गते रहेकाले बोलपत्रसम्बन्धी कागजात र लागू भएको नयाँ कानुनी व्यवस्थाबीच सामञ्जस्य कायम गर्नुपर्ने आवश्यकता देखिएको थियो ।
संशोधित नियमावली लागू भइसकेपछि पनि पुरानै मूल्यांकन विधिअनुसार तयार गरिएको बोलपत्रसम्बन्धी कागजातका आधारमा आर्थिक प्रस्ताव खोल्ने र ठेक्का प्रक्रिया अगाडि बढाउँदा भविष्यमा कानूनी तथा प्रक्रियागत जटिलता उत्पन्न हुनसक्ने देखिएको रजौरिया बताए ।
उनले प्रचलित कानूनको पालना तथा भविष्यमा आउन सक्ने कानूनी जटिलतालाई समेत दृष्टिगत गरी बोलपत्र रद्ध गर्ने निर्णय गरिएको स्पष्ट पारे ।
महानिर्देशक रजौरियाले एभरेज बिड प्राइसमा आधारित मूल्यांकन विधिभन्दा रेटेड पोइन्ट क्राइटेरियामा आधारित मूल्यांकन विधिबाट निर्माण व्यवसायीको प्राविधिक क्षमता, अनुभव, कार्यसम्पादन क्षमता तथा अन्य निर्धारित मापदण्डको समग्र मूल्यांकन गर्न सकिने बताए।
रजौरियाकाअनुसार एक अर्ब ५० करोड रूपैयाँभन्दा बढी लागतका जटिल प्रकृतिका संरचना निर्माणका लागि प्राविधिक पक्षलाई समेत महत्त्व दिएर निर्माण व्यवसायी छनोट गर्नुपर्ने भएकाले संशोधित नियमावलीअनुसारको मूल्यांकन प्रणाली उपयुक्त हुने देखिएको हो ।
रेटेड पोइन्ट क्राइटेरियाबाट प्राविधिक रूपमा सक्षम र अनुभवी निर्माण व्यवसायी छनोट गर्न थप आधार प्राप्त हुने उनको भनाइ छ । यसबाट आयोजनाको निर्माण गुणस्तर, कार्यसम्पादनको प्रभावकारिता, समयमै आयोजना सम्पन्न गर्ने सम्भावना तथा सार्वजनिक खर्चको सदुपयोग सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास लिइएको उनले बताए ।
त्यसैगरी संशोधित नियमावलीअनुसार बोलपत्रसम्बन्धी कागजात तयार गरी पुनः प्रतिष्पर्धात्मक प्रक्रिया अगाडि बढाउँदा भविष्यमा हुनसक्ने कानूनी विवाद तथा प्रक्रियागत जटिलता न्युनिकरण गर्न सकिने उनले उल्लेख गरे ।
रजौरियाले बोलपत्र रद्ध गर्ने निर्णय कुनै व्यक्ति वा पक्षविशेषको हितलाई ध्यानमा राखेर नगरिएको स्पष्ट पारे । प्रचलित सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्थाको पालना, प्रतिष्पर्धात्मक खरिद प्रणालीको सुनिश्चितता, आयोजनाको गुणस्तर तथा राष्ट्रिय हितलाई केन्द्रमा राखेर निर्णय गरिएको उनले बताए ।
उनले सार्वजनिक खरिद प्रक्रिया अगाडि बढाउँदा तत्कालीन प्रक्रियागत सुविधाभन्दा प्रचलित कानूनको पालना, सार्वजनिक स्रोतको अधिकतम सदुपयोग र दीर्घकालीन राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
महानिर्देशक रजौरियाले विभागीय प्रमुखको हैसियतले प्रचलित कानून तथा सार्वजनिक खरिदसम्बन्धी व्यवस्थाको पालना सुनिश्चित गर्नु आफ्नो प्रमुख जिम्मेवारी रहेको उल्लेख गरे ।
कानूनविपरित हुनसक्ने सम्भावना रहेको खरिद प्रक्रियालाई अगाडि बढाउनुभन्दा कानुनसम्मत, पारदर्शी र प्रतिष्पर्धात्मक प्रक्रिया सुनिश्चित गर्न आफूले प्राथमिकता दिएको उनको भनाइ छ ।
बैठकमा महानिर्देशक रजौरियाले जलस्रोत तथा सिँचाइ विभाग तथा मातहतका निकायबाट सम्पादन भएका कामकारबाहीका सम्बन्धमा सार्वजनिक लेखा समितिले राखेका जिज्ञासा, चासो तथा सरोकारलाई विभागले उच्च महत्वका साथ लिएको बताए ।
उनले सार्वजनिक पदमा रहेर काम गर्दा प्रचलित कानुन, विधि, प्रक्रिया तथा सार्वजनिक उत्तरदायित्वको पालना गर्नु आफ्नो प्रमुख दायित्व भएको उल्लेख गरे ।
समितिबाट थप जानकारी, स्पष्टीकरण वा परामर्शका लागि जुनसुकै समयमा बोलाइएमा आवश्यक कागजात, प्रमाण तथा तथ्यसहित उपस्थित भएर सहयोग गर्न आफू सदैव तयार रहेको उनले बताए ।
समितिबाट प्राप्त हुने निर्देशन तथा सुझावलाई पूर्ण सम्मानका साथ ग्रहण गरी कानूनको अधीनमा रहेर कार्यान्वयन गर्न विभाग प्रतिवद्ध रहेको पनि उनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्