पब्लिक विश्वविद्यालय स्थापना गर्न पब्लिक क्याम्पस प्राध्यापक संघको माग,मुख्यमन्त्रीको सकारात्मक जवाफ


काठमाडौँ । सामुदायिक क्याम्पसमा कार्यरत प्राध्यापकहरूको छाता संगठन पब्लिक क्याम्पस प्राध्यापक संघले नेपाल पब्लिक विश्वविद्यालय बागमती स्थापना गरी सबै सामुदायिक क्याम्पसहरूलाई समाहित गर्न माग गरेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई भेटेर मागपत्र बुझाउँदै संघले प्रदेशको उच्च शिक्षा ऐन र नियमावली समेत बनिसकेको भन्दै प्रादेशिक पब्लिक विश्व विद्यालय स्थापना तत्काल अगाडि बढाउन माग गरेको हो ।

बागमती प्रदेशमा हाल १७३ वटा सामुदायिक क्याम्पस छन् भने १३ वटाले विश्वविद्यालय अनुदान अयोगबाट क्यूएए प्राप्त गरिसकेका छन् ।

प्रदेशमा रहेका सबै पब्लिक क्याम्पसहरूलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएको र बागमती प्रदेशको उच्च शिक्षाको विकासमा विगत लामो समयदेखि सामुदायिक क्याम्पसहरूले दिएको योगदान पनि माग पत्रमा स्मरण गराईएको छ ।

मागपत्रमा भनिएको छ,“ विगतमा हामीले नेपाल सरकार समक्ष केन्द्रीय स्तरको नेपाल पब्लिक विश्वविद्यालयकाे माग राखी ऐनको मस्यौदासमेत गरेको र चितवनको दियालो बङ्गलामा केन्द्रीय कार्यालयमा राख्नेगरी सर्वदलीय सहमति समेत भएको तथ्यलाई यस प्रदेश सरकार समक्ष स्मरण गराउन चाहन्छौँ । ”

बागमती प्रदेश सरकारले पनि पब्लिक विश्वविद्यालयको संभाव्यताको अध्ययन गरेर उच्च शिक्षा ऐन र नियमावली समेत निर्माण गरिसकेको छ ।

सर्वसुलभ शूल्क र झिनो अनुदानका आधारमा सम्पूर्ण व्ययभार बहन गर्नुपर्ने भएकाले क्याम्पसहरूको अवस्था ज्यादै दयनीय बनेको संघको माग पत्रमा उल्लेख छ ।

माग पत्रमा भनिएको छ,“ एउटै र सार्वभौम विधान तथा सुपरीवेक्षणका अभावमा वैधानिक समस्या सिर्जना भएको छ । त्यसले यस्ता क्याम्पसहरूमा कार्यरत प्राध्यापक कर्मचारीहरूको अवस्थामा पनि अत्यन्त दयनिय बनेको छ । कार्यरत प्राध्यापकहरूको पेसागत सुरक्षा,सुविधा र सम्मानका क्षेत्रमा अत्यन्त ठुलो अन्योलता रहेको छ ।” यी समस्या समाधानका लागि विश्वविद्यालय स्थापना गर्नुपर्ने संघको माग छ ।

जवाफमा मुख्यमन्त्री जम्कट्टेलले मागप्रति आफू अत्यन्त सकारात्मक रहेको र सकेसम्म काम अगाडि बढाउने आश्वासन दिएको संघका अध्यक्ष नरेन्द्र कोइरालाले जानकारी दिए ।