सरकारको ओतमा बसेर प्रतिपक्ष हुँ भन्न एमाले तयार छैनः ओली


काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको संरक्षणमा रहेर प्रतिपक्षको भुमिका निर्वाह गर्ने पक्षमा एमाले नरहेको बताएका छन्। 

बिहीबार काठमाडौँमा जारी एमाले राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै ओलीले नेकपा एमाले देशमा अस्तित्वमा रहेको प्रमुख प्रतिपक्षी दल भएको उल्लेख गर्दै सरकारका गलत कामको प्रतिवाद गर्ने बताएका हुन् ।

ओलीले गएको निर्वाचनमा एमालेको पराजयलाई जनताबाट अलगिएको परिणामका रूपमा व्याख्या गर्न नमिल्ने जिकिर गरे । निर्वाचनका लागि सुरुदेखि नै प्रतिकूल वातावरण सिर्जना गरिएको र एमालेलाई एक्ल्याउने प्रयास भएको उनको आरोप छ ।

उनले संसदको असंवैधानिक विघटनलाई मान्यता दिइएको भन्दै न्यायालयको भुमिकामाथि प्रश्न उठाए । संविधान र कानूनअनुसार न्यायिक निर्णय हुन नसकेको भन्दै उहाँले त्यसबेला न्यायालयले न्याय दिन नसकेको टिप्पणी गरे । 

निर्वाचनको वातावरण नभएको भन्दै एमालेले शुरुदेखि आवाज उठाए पनि पार्टीले निर्वाचन बहिष्कार नगरेको उनले बताए । निर्वाचनमा सहभागी नभएको भए एमालेमाथि थप गलत व्याख्या र प्रहार हुनसक्ने भएकाले प्रतिकूल अवस्थामा पनि चुनावमा गएको उनको भनाइ थियो ।

ओलीले विभिन्न शक्ति लागेर एमालेलाई समाप्त पार्न खोजे पनि पार्टी अझै बलियो अवस्थामा रहेको दाबी गरे। उनले टर्कीमा आयोजित जलवायु परिवर्तनसम्बन्धी कोप सम्मेलनमा नेपालको सहभागितालाई लिएर सरकारको आलोचना गरे ।

नेपालको सहभागिता कमजोर रहेको भन्दै उनले जलवायु परिवर्तनको मुद्दा पर्यटनसँग मात्र नभई हिमाल, हिमनदी, जल पुनर्भरण प्रणाली र समग्र जनधनको सुरक्षासँग जोडिएको बताए । 

हिमालको संरक्षण नेपालको मात्र नभई विश्वव्यापी सरोकारको विषय भएको उल्लेख गर्दै ओलीले जलवायु परिवर्तनका असर रोक्न गम्भीर पहल आवश्यक रहेको उनकाे भनाइ छ ।