धनुषाको मिथिला बिहारी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छापा


काठमाडौँ । धनुषाको मिथिला बिहारी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

ज्येष्ठ नागरिकहरूको सम्मानका लागि रकम निकासा भएपनि सम्मान नगरिएको आरोपमा नगरपालिकामा अख्तियार बर्दिवासले छापा मारेको हो ।

नगरपालिका–९ अन्दुपट्टिका वडाध्यक्ष विन्द्येश्वर यादवले अनुचित कार्य गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा उजुरी दर्ता भएको थियो ।

वडाध्यक्ष यादवले ज्येष्ठ नागरिकहरूलाई सम्मान कार्यक्रमको लागि छुट्टयाइएको ४ लाखको बजेटमा एक कर्मचारी राजकुमार मण्डलको नाममा पेस्की भुक्तानी लिएको तर सम्मान नगरेको ज्येष्ठनागरिकहरूले बताएको सो निवेदनमा उल्लेख छ ।

त्यस्तै, वैदेशिक रोजगारबाट फर्केका युवाहरूको लागि सीपमुलक तालिमका लागि ४ लाखको बजेटमा ३ लाख ९८ हजार ३ सय २५ रुपैयाँ भुक्तानी लिएको, वडा नं. ९ अन्तर्गत स्ट्रिट लाइट जडानका लागि ८ लाखमा ७ लाख ९२ हजार ९ सय २१ रुपैयाँ भुक्तानी लिएको भनिएको छ ।

वडा कार्यालय संचालन खर्च, मसलन्द, फर्निचर, इन्धन तथा सवारी ममर्तका लागि साढे चार लाखको बिल भरपाइ पेस गरेको १ लाख ७८ हजार भुक्तानी लिएको सो निवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै,वडा ९ मा २ इन्चको कृषि पम्पिङसेटका लागि छुट्टयाइएको ५ लाखमा ४ लाख ८५ हजार ३२ रुपैयाँ भुक्तानी लिएको, विद्यार्थीहरूका सिकाइ उपलब्धिको लागि श्री रामजानकी आधारभुत विद्यालय कटरैत तथा आधारभुत विद्यालय अन्दुपट्टिको लागि शैक्षिक सामग्री तथा पोशाक वितरण नगरी ९ लाख ९६ हजार ६ सय ६० रुपैयाँ भुक्तानी लिएको उजुरी पत्रमा उल्लेख गरिएको छ ।

वडा नं. ९ अन्तर्गत खानेपानीका लागि ह्याण्डपाइप जडान तथा खरिदका लागि छुट्टयाइएको १० लाख मा ९ लाख ६६ हजार ७ सय ५१ रुपैयाँ भुक्तानी लिएको स्थानीय चन्द्रदीपकुमार यादव र धर्मनाथकुमार यादवले दिएको निवेदनमा उल्लेख गरिएको छ ।

पेस गरिएको सो निवेदनमा दुवै आधारभुत विद्यालयले यस विद्यालयमा कुनै पोशाक वितरण नभएको र सो वडाका ज्येष्ठ नागरिकहरुले सम्मान नपाएको सही छाप गरिएको आधार पेस गरिएको छ ।