डिजिटल बैंकिङको सुरुवाती दिन, पूरै प्रणाली १० एमबीको हार्डडिस्कमा


पहिला ‘इम्प्रेसन’ लिने मेसिन चल्थ्यो । त्यसबाट नै क्रेडिट कार्ड चल्थ्यो । त्यस कार्डमा इन्फरमेसन उठेको हुन्थ्यो । त्यो उठेको भागले कार्डलाई मेसिनमा राख्यो अनि तान्दा त्यसको इम्प्रेसन कार्बन लेस पेपरमा आउँथ्यो । एउटा पेपर ग्राहकलाई, एउटा बैंकलाई र एउटा मर्चेन्टले रेकर्ड राख्ने काम हुन्थ्यो । 

-सुमन न्यौपाने-

नेपालको बैंकिङ क्षेत्रमा सूचना प्रविधिको कुरा गर्दा हामी भारतभन्दा पनि अगाडि रहँदै आएका छौँ । नेपालमा वित्तीय उदारीकरणपूर्व नेपाल बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक नेपालमा तीन बैंकहरू थिए । कृषि बैंकले त्यो बेलामा वाणिज्य बैंकिङ गर्दैन थियो । नेपाल बैंक र वाणिज्य बैंकहरूले ढड्डामा नै काम गरिररहेका थिए । टोकनबाट ग्राहकले पालो प्रतीक्षा गर्नुपथ्र्यो । बैंकिङ कारोबार यसरी हुने गरेको थियो । 

नेपालको बैंकिङ र प्रविधिको कुरा गर्दा नेपाल अरब बैंक (हाल नबिल बैंक) सम्म पुग्नु पर्छ । नबिल बैंकले सुरुमा अकाउन्टिङ मसिन ल्याएको थियो । त्यसलाई सफ्टवेयर भन्न मिल्दैन किनभने त्यसको सम्बन्ध कम्प्युटराइजेसनबाट कुनै पनि सम्बन्ध थिएन । यसले अकाउन्टिङ मेसिनको प्रयोग गरेर ग्राहकको आजको ब्यालेन्स, दिनभरिको कारोबार र अन्तिम ब्यालेन्स निकालेर कार्बनलेस पेपरको स्टेटमेन्ट बनाएर दिने गरेको थियो ।

हामी नेपाल अरब बैंक (हाल नबिल बैंक) बाट क्रेडिट कार्डको लागि भारत गएका थियौँ । नबिल बैंक रिकन्सिलेसन विभागले ओसीबीसी बैंकमा गएर ‘रिकन्सिलेसन आउटस्ट्याण्डिङ’ हेरिदिनु भनेपछि त्यहाँ गएको थियौँ । त्यहाँ प्रविधिमा आधारित भइसकेपछि पनि गाह्रो छ भनेर प्रतिक्रिया दिएका थिए । 

भारतबाट एकजना प्रोग्रामर आउनु भएको थियो । म र उहाँ दुई जना मिलेर नबिल बैंक चलाउनको लागि सन् १९८६ मा २१ दिनमा सफ्टवेयर तयार गर्‍यौँ । त्यो समयमा १० मेगाबाइट (एमबी) हार्ड डिस्कमा ८०८८ प्रोसेसर भएको आइबिएम पिसीमा नबिल बैंकलाई कम्प्युटराइज गर्‍यौँ । हामीले ग्राहकसँग जोडिएका डाटा बेसमा प्रोसेस गर्दागर्दै बैंकको इन्टरनल डाटा पनि कम्प्युटराइज्ड गर्नुपर्छ भनेर अर्को कम्प्युटर किन्यौँ । अर्को कम्प्युटरमा इन्टरनल एकाउन्टिङ डाटा त्यही ८०८८ पिसी विथ १० एमबी हार्डडिस्क २५६ केबीको फ्लपी ड्राइभमा ब्याकअप राख्यौँ । यो नै नेपालको बैंकिङ इतिहासमा नेपालको पहिलो कम्प्युटराइजेसन हो । 

पहिलो एटीएम हामीले ब्राजिलबाट ल्याएका हौँ । हिमालयन बैंकको न्युरोड शाखामा राखेको एटीएम नै नेपालको पहिलो एटीएम मेसिन हो । ब्राजिलबाट ल्याएको हुनाले ब्राजिलियन भाषा बोल्ने लेखेको पनि ब्राजिलकै भाषामा थियो ।

त्यस समयमा नबिल बैंकको स्वामित्व दुबई बैंक लिमिटेड अथवा इमिरेट्स बैंक इन्टरनेसनलको थियो । योसँगै विस्तारै बैंकको कारोबार बढ्दै गयो तर कम्प्युटरको क्षमता घट्दै गयो । त्यसपछि म, अजय घिमिरे र मर्कन्टायल अफिस सिस्टमको दुई जना प्रोग्रामरहरू दुबई गयौँ । 

हामीले नबिल बैंकको प्यारेन्ट संस्थाले कसरी कम्प्युटराइजेसन गरेको छ भनेर सात दिन त्यहाँ बसेर उनीहरूको कम्प्युटर सिस्टम अध्ययन गरेर फर्कियौँ ।सन् १९८६ मा नेटवर्किङ ल्यानको अवधारणा आइसकेको थियो । हामीले दुई महिना लगाएर सफ्टवेयर तयार गर्‍यौँ र नबिल बैंकमा राख्यौँ । 

कम्प्युटराइजेशनपछि काममा सहजता हुँदै गयो । टेलरले आफैँ कम्प्युटर चलाएर कारोबार गर्न मिल्ने, माथि बस्ने ऋणको मान्छेले पनि आफैँ कम्प्युटर चलाएर ऋणको काम गर्न मिल्ने, एलसीवालाले आफैँले कम्प्युटर चलाउन मिल्ने गरेर डिस्ट्रिब्युटर सिस्टममा गयौँ । सुरुमा केन्द्रीकृत थियो कम्प्युटराइजेसनबाट डिस्ट्रिब्युटरमा गयौँ । यो व्यवस्था नबिल बैंकमा धेरै वर्षसम्म चल्यो । 

त्यो बेलामा संसारमा सबैभन्दा बढी चलेको क्यापिटी भन्ने सफ्टवेयर हो । यो सफ्टवेयर आइबीएम मिनीमा चल्थ्यो । पहिला आइसुलेन सिस्टम, डिस्ट्रिब्युसन सिस्टम कार्यान्वयन गर्ने र नेट वेयर राखेर ल्यानमा त्यसपछि क्यापिटीमा जाने भन्ने उद्देश्य थियो तर हामीले नेपालमा नै बनेको राम्रोसँग चलेका कारण कुनै पनि विदेशी सिस्टम ल्याउनको लागि जरुरी भएन । मर्कन्टायल अफिस सिस्टमबाट बनाइएको ‘न्यापसिस’ थियो नबिल बैंकको, जसको विस्तारित पुमोरी हो । अहिले पनि कतिपय फाइनान्स कम्पनी र कम कारोबार भएको संस्थाले पुमोरी भनेर चलाइरहेका छन् । 

त्यसै समयमा हिमालयन बैंक खुल्ने भएपछि मलाई बोलाइयो । हिमालयन बैंकले पनि पुमोरी लिने र म पनि पुमोरी विकासमा सुरुबाट नै जोडिएको कारणले मलाई बोलाइएको थियो । त्यसपछि हिमालयन बैंकमा पनि पुमोरी राख्यौँ । 

त्यस समयमा बैंकहरको सफ्टवेयर धेरै महङ्गो थियो । अहिले पनि महङ्गो छ । त्यो बेलामा नेपाल जस्तो देशले अन्तर्राष्ट्रिय सफ्टवेयर ल्याएर चलाउन सक्ने अवस्था थिएन । बैंकहरूको पुँजी नै कम थियो । त्यस समयमा ६ करोड रुपैयाँमा वाणिज्य बैंक खुल्थ्यो भने बैंकको सफ्टवेयर ८–१० करोड रुपैयाँ पथ्र्यो । नेपाल जस्तो देशको लागि विदेशबाट सफ्टवेयर ल्याएर चलाउन सम्भव थिएन । त्यही कारण नै हामीले आफैँ बनाउनुपर्छ भनेर सफ्टवेयरको विकास गरेको हो । त्यो बेलामा ८०८६ प्रोसेसर भएको १० एमबी हार्डडिस्क भएको एउटा पीसीलाई २ लाख रुपैयाँ तिरेर किनिएको थियो । प्रविधि धेरै महँगो थियो । अहिले टेराबाइट (टीबी)को फोन आइसक्यो । त्यो बेलामा १० एमबीको हार्डडिस्कमा बैंक चलाउँथ्यौँ । 

कारोबार विस्तार हुुँदै गएपछि वाणिज्य बैंकको लागि पुमोरी गाह्रो भयो । त्यसपछि हामीले अन्तर्राष्ट्रिय सफ्टवेयर फिनाकल, टि ट्वान्टी फो जस्ता बैंकिङ सफ्टवेयर ल्याएका हौँ । नेपालमा आएको पहिलो बैंकिङ एप्लिकेसन बैंङ्क्स् २००० हो । पछि हिमालयन बैंकले टि ट्वान्टी फो लियो भने लक्ष्मी बैंकले एउटा ओराकलको सफ्टवेयर ल्याएको थियो । 

नेपालमा ग्रिनलेज बैंक (हाल स्टयाण्डर्ड चार्टड बैंक) र नेपाल इन्ड्रोस्वेज बैंक (हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक) यिनीहरूले मातृ निकायको सफ्टवेयर ल्याएर चलाउने गरेका थिए । सन् १९९६ तिर सिटी बैंकको ‘रिलेटेड सफ्टवेयर’ त्यस्तो लिएर हामी अन्तर्राष्ट्रिय मैदानमा प्रवेश गरेको हो । 

त्यो समयमा भारतीय कम्पनी इन्फोसिसले उत्पादन गरेको ‘बैंक २०००’ पहिला बैंक अफ काठमाडौँले कार्यान्वयनमा ल्यायो । त्यसै उत्पादनलाई पछि विस्तारै अरू बैंकहरूले पनि कार्यान्वयन गरे । कसैले फिनाकल अपनाए । फिनाकल बैंक २००० कै सुधारिएको सफ्टवेयर हो । कसैले सिटिक्रपको, कसैले टि ट्वान्टी फो सफ्टवेयर प्रयोग गर्ने गरेका थिए । 

हामीले यो समयमा डिजिटलाइजसँगै क्रेडिट कार्डमा पनि काम गरिरहेको थियौँ । नेपालमा डेबिट कार्डभन्दा पहिला क्रेडिट कार्ड सुरु भएको हो । क्रेडिट कार्डको सुरुवात हिमालयन बैंकले गरेको हो । हिमालयन बैंक सुरुवात गर्दा नै बैंक कार्ड भनेर सुरुवात गरेका थियौँ, त्यो कार्ड नेपालमा मात्र चल्थ्यो । 

त्यस समयमा ग्रिनलेज बैंकले, नबिल बैंक, हिमालयन बैंकले भिजा कार्डको सुरुवात गरे । नेपालमा मास्टर कार्डभन्दा पहिला भिजा कार्ड आएको हो । नेपालमा मास्टर कार्डको पहिलो मेम्बर नबिल बैंक हो । 

हामीले हिमालयन बैंक कार्ड सञ्चालन गरिरहेका समयमा सायम कर्मसियल बैंक थाइल्याण्डसित सम्झौता गरेर नेपाल राष्ट्र बैंकले अनुमती दिएको मान्छेलाई डलर तिर्न मिल्ने अन्तर्राष्ट्रिय क्रेडिट कार्ड दिने गरेको थियो । विस्तारै नेपालमा मास्टर कार्ड पनि आयो । नेपालमा टेलिबैंक पनि हिमालयन बैंकले सुरुवात गरेको हो । सिङ्गापुरमा नभएको टेलिबैंकको प्रविधि हिमालयन बैंकले नेपालमा सुरुवात गरेको हो । त्यसबेला हामीले पुमोरीमा टेलिबैंक जोडेको थियौँ । पहिला आउने टचटोन टेलिफोनमा हिमालयन बैंकले दिएको नम्बर डायल गरेपछि मेसिनले ब्यालेन्स चाहिएको भए १ थिच्नुस्, स्टेटमेन्ट चाहिएको भए २ थिच्नुस्, चेकबुक अर्डर गर्नुछ भने ३ थिच्नुस्, भनेर निर्देशन दिन्थ्यो । टचटोन फोन अहिले हराएर गइसकेको छ । 

त्यसपछि विस्तारै एटीएममा गएका हौँ । पहिलो एटीएम हामीले ब्राजिलबाट ल्याएका हौँ । हिमालयन बैंकको न्युरोड शाखा राखेको एटीएम नै नेपालको पहिलो एटीएम मेसिन हो । ब्राजिलबाट ल्याएको हुनाले ब्राजिलियन भाषा बोल्ने लेखेको पनि ब्राजिलकै भाषामा थियो । त्यसको किबोर्डमा माथि एबीसीडी बैंकले नै छापेको थियो । त्यसमा निर्देशन पनि टाँसेकाले यो अनुसार ग्राहकले चलाएर एटीएम प्रयोग गर्ने गर्नुहुन्थ्यो । त्यो अहिले हिमालयन बैंकले आफ्नो केन्द्रीय कार्यालयमा सजाएर राखेको छ । 

‘डिपोजिट’ राख्न मिल्ने एटीएम पनि पहिले हिमालयन बैंकले नै लिएर आएको हो । हामीले चार एटीएम लिएर आएका थियौँ ।  मलाई अबको भविष्य मोबाइल फोन मात्र हो जस्तो लाग्छ । सबै मोबाइलमा नै हुन्छ । यसको कारण पनि अहिले नेपालमा डिजिटल कारोबार बढ्दो अवस्थामा छ । यद्यपि पछिल्लो समयको डिजिटल कारोबार विकासकै चरणमा छन् । यस्तो प्रविधिको विकाससँगै अब डेबिट कार्ड र क्रेडिट कार्डलाई प्रतिस्थापन गर्नुपर्छ । मोबाइल फोनले बाँकी सबै डिभाइसलाई प्रतिस्थापन गरिदिन्छ । 

पछिल्लो समय बैंकिङ प्रविधि धेरै अगाडि गइसकेको छ । सँगै सुरक्षाको चुनौती पनि बढ्दो अवस्थामा छ । नेपालमा सफ्टवेयरको दुरुपयोग गरेर बैंकिङ फ्रड हुने क्रम पनि बढ्दो अवस्थामा छ । क्रेडिट कार्डसँग सम्बन्धित, एटिएमसँग सम्बन्धित ठगी हामीले देखिरहेका छौँ । यसलाई उचित कानुनी व्यवस्था, नियमन संयन्त्र र प्रविधिको प्रयोग गरी सुरक्षित बनाउनु पर्छ । अहिलेको प्रविधि जति उन्नत छ, त्यो सँगै जोखिम पनि बढ्दै गइरहेको छ । 

यसको प्रयोगकर्ता बढिरहेको अवस्था पनि छ । इन्टरनेटको कारणले सीमा पनि दिन प्रतिदिन बढिरहेको छ । यसको सुरक्षालाई हामीले कति महत्व दिन्छौँ, त्यति नै राम्रो हुँदै जान्छ । हाम्रो अवस्था के हुन्छ भने कुनै नयाँ काम गर्दा सफल भयो भने कति राम्रो गरेँ मैले भन्ने हुन्छ त्यसमा सुरक्षामा सम्झौता हुन थाल्छ । त्यसपछि हामी विकासमा, मार्केटिङमा र रेभेन्युमा मात्र बढी केन्द्रित हुन्छौँ । त्यसको सुरक्षामा सम्झौता हुन थाल्छ । अन्तर्राष्ट्रिय सफ्टवेयर महँगो हुने कारण नै त्यसको सुरक्षाको कारणले हो । जुन सफ्टवेयरले आफ्नो सुरक्षामा विशेष ध्यान दिन्छ, त्यो नै महँगो हुने हो । यस्ता विषयमा ध्यान जानैपर्छ ।

(टक्सार म्यागजिन, २०८० साउन अङ्क , पृष्ठ १० देखि ११ सम्म)