‘नेपाल-भारत सम्बन्ध प्राकृतिक र अटूट’


काठमाडाैँ । नेपाल र भारतबिचकाे सम्बन्ध मानव सभ्यतादेखिकाे रहेकाले अटूट रहेकाे सराेकारवालाले बताएका छन् । नेपालका दलका नेता र भारतीय राजदूत लगायतका वक्ताले दुइ देशकाे सम्बन्धका बारेमा चर्चा गरेका हुन्। 

बुधवार ७६ औँ भारतीय स्वतन्त्रता दिवस सन्दर्भमा नेपाल भारत मैत्री समाजले आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै नेपालका राजनैतिक दलका नेताहरूले दुई देशकाे सम्बन्ध प्रकृतिसँग जाेडिएकाले युगाैं युगदेखि युगाैंयुग सम्म सुमधुर रूपमा चल्ने बताएका हुन् । 

समाजका अध्यक्ष प्रेम लस्करीले नेपाल भारत सम्बन्धकाे उचाइँकाे चर्चा गर्दै सम्बन्ध थप सुदृढ बनाउन दुबै देशका नेता र नेतृत्व प्रतिवद्ध भएर अगाडि बढाउनु पर्ने बताए। 

कसले के भने?:

नेपाल—भारत सम्बन्ध थप उचाईमा पुर्‍याउनेछौँ: राजदुत श्रीवास्तव

नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले नेपालसँगको भारतको सम्बन्धलाई हिमालय झैँ उचाइमा पु-याउने काम गरिरहेको बताएका छन्। 

कार्यक्रममा बोल्दै उनले नेपाल र भारतबीचको सम्बन्ध सदियौँदेखि चलिरहेको र अझै सम्बन्ध बिस्तार गर्दै जान भारत अघि बढीरहेको बताएका हुन्। 

केही समयअघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाँदा पनि भारत र नेपालबीचको सम्बन्ध बढाउन नै बढी जोड दिएको चर्चा गर्दै राजदूत श्रीवास्तवले दुई देश बीचको सम्बन्ध बिस्तारले अर्थ व्यवस्था र व्यापार व्यवसायलाई बढाउँदै लैजानुपर्नै बताए।

राजदूत श्रीवास्तवले भने, “हामीबीचको मित्रताको सम्बन्ध सदियौँदेखि चलिरहेको छ । दुई देशबीचका जनताको महत्वपूर्ण सम्बन्ध सांस्कृतिक आधारमा बनेको छ । हाम्रो प्रयास यो सम्बन्धलाई हामी अगाडि झनै राम्रो बनाउनेछाैँ।”

नेपालबाट भारत जाने नदीलाई इनल्याण्ड वाटरबेसको प्रयोग गर्नमा उनकाे जाेड छ । राजदूत श्रीवास्तवले थपे, “दुवै देशको बीचमा अर्थ व्यवस्थाको कुरा र व्यापारको कुरा अघि बढ्नेछ, हामीले नयाँ तेलको पाइपलाइनको कुरा हामीले अघि बढाएका छौँ ।”

नेपाल–भारतबीचको सम्बन्ध कसैले पनि बिगार्न सक्दैनः ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको मित्रतापूर्ण सम्बन्ध कसैले पनि बिगार्न नसक्ने बताए। 

दुई मुलुकबीचको सम्बन्ध कहिले काहीँ केही कारणले सानातिना दरार भएपनि सम्बन्धलाई स्थायी रुपमा सधैँका लागि कसैले पनि बिगार्न नसक्ने अध्यक्ष ओलीको बुझाई थियो । 

दुई मुलुकबिचको सम्बन्धलाई खटपट हुन दिनु वाञ्छनीय नहुने चर्चा गर्दै ओलीले दुई मुलुकबीच देखिएका विद्यमान समस्या खुलस्त कुराकानी गरेर समाधान गर्नुपर्ने पनि दोहो-याए। 

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका उनले दुई मुलुकबिच सँगसँगै हिँड्नुको विकल्प नरहेको स्मरण गराउँदै केही समस्याहरु भए समाधान गर्दै अघि बढ्नुपर्नेमा जाेड दिए । 

अध्यक्ष ओलीले न्याय र अन्तराष्ट्रिय उत्तरदायित्वलाई केन्द्रमा राखेर दुई मुलुकले आफ्नो सम्बन्धलाई अगाडि बढाउनुपर्ने बताए। 

उनले भने, “राष्ट्रिय हीत हरेक देशले सोच्छ । राष्ट्रिय हीत सोच्दाखेरी न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्व, राष्ट्रिय हीतको पक्षपोषण गरिरहँदा, कुराकानी गरिरहँदाखेरी जष्टिस र इन्टरनेशनल अब्लिगेशन दुई वटा कुरालाई सँगसँगै राखिएन भने त्यो अन्धराष्ट्रवाद हुन्छ ।”

नेपाल सदैव समानता, पारस्पारिक लाभ र सम्मानको पक्षमा रहेकाले सम्बन्धलाई साँच्चैको मित्रताको रुपमा अगाडि बढाउन चाहेकाे बताए । उनले थपे, “हाम्रा बिचको सम्बन्ध त अत्यन्त पुराना मित्रहरुको हो । प्रकृतिले दिएका मित्रहरु, इतिहासले बनाएका मित्रहरु र मैले कतिपय ठाउँमा भन्ने गर्छु–नेपाल र भारत बीचको सम्बन्ध कहिलेकहिले, कुनैकुनै कारणले, थोरैतिनो घचपच भएपनि यस सम्बन्धलाई स्थायी रुपमा सधैंका लागि कसैले पनि बिगार्न सक्दैन । किनभने यो प्रकृतिले बाँधेको सम्बन्ध हो ।”

ओलीले भारतले ठूलाठूला प्रगति गरेको उल्लेख गर्दै खुशी समेत व्यक्त गरे। भारतकाे जस्ताे विकासकाे माेडेल नेपालले पनि चाहेकाे इंकित गर्दै उनले भारतले नेपालकाे विकासमा सघाउनु पर्नेमा जाेड दिए। 

भारतको बिरोध गर्नु नेपालको राष्ट्रवाद होइनः सांसद केसी

नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले भारतको बिरोध गर्नु नेपालको राष्ट्रवाद नभएको बताएका छन् । 

बुधवार नेपाल भारतमैत्री समाजको बाेल्दै उनले २०१७ सालपछि नेपालको राष्ट्रवाद नै भारत र काँग्रेसको बिरोध गर्नु हो भन्ने भाष्य बनेको बताए। 

अहिले पनि कहिलेकाहीँ भारतको बिरोध गर्नु नै नेपालको राष्ट्रवाद हो भनि सम्झिने गरिएको भन्दै त्यो गलत भएको उनकाे भनाइ छ। 

उनले कुनै राष्ट्रको बिरोधमा नभई आफ्नो राष्ट्रको पक्षमा उभिनुपर्ने बताए। नेपाल–भारत बीचको सम्बन्धलाई अझै सशक्त र मजबुत बनाउनुपर्नेमा जाेड दिए। 

केसीले भारतीय स्वतन्त्रता संग्रामले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पनि अद्वितिय योगदान दिएको चर्चा गरे।

उनले भने, “खासगरेर १७ सालपछिको एउटा परिस्थिति यसरी जन्मियो तत्कालिन पञ्चायती व्यवस्थाको बिरोधमा सशस्त्र संघर्षदेखि विभिन्न प्रकारका संघर्षका निम्ति भारतीय क्षेत्रलाई आधार बनाएर हाम्रो नेता सुवर्ण समशेर लगायत बसेको स्थितिमा तत्कालिन परिवेश के भयो भने नेपालको राष्ट्रवाद भनेको नै भारत बिरोधवाद र काँग्रेस बिरोधवादको रुपमा जन्मियो ।”

कहिलेकाहीँ भारत बिरोधवाद नै नेपालको राष्ट्रवाद हो कि भनेर सम्झनु गलत रहेकाे तर्क केसीकाे छ । “संसारमा कुनै पनि राष्ट्रको बिरोध होइन आफ्नो समर्थनमा हरेक राष्ट्र उभिन्छ,” उनले भने, “हरेक राष्ट्रको राष्ट्रिय अस्तित्वको निम्ति पहिलो उसको चासो हुन्छ । छिमेकी भन्दा । हुनत भारतीय नीति अहिले छिमेकी पहिलो भन्ने छ ।”

केसीले नेपाल–भारत बिचको सम्बन्ध राजनीतिक बन्धनले मात्रै बाँधिएको नभई धर्म, संस्कार, संस्कृति, परम्परा र आपसी मान्यताहरुबाट एक अर्कामा जोडिएको बताए। 

दुई देशका बीचमा देखिएका समस्याहरुलाई पारस्परिक आत्मविश्वासका साथ सहअस्तित्व र सहसम्मानको बाटोबाट हल गर्नुपर्ने धारणा उनकाे धारणा छ ।

नेपाल—भारत सम्बन्धलाई नयाँ दिशा दिन जरुरीः उपेन्द्र यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल—भारत सम्बन्धलाई नयाँ दिशा दिन जरुरी रहेको बताएका छन्। 

बुधवार नेपाल—भारतमैत्री समाजको काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल र भारतमा उपलब्ध श्रोत, साधन, ज्ञान, विज्ञान र प्रविधिलाई प्रयोग गरेर विकास निर्माणमा लाग्नुपर्ने बताए। 

उनले दुवै मुलुकमा रहेको गरिबी, बेरोजगारी, अशिक्षालाई दुवै देश एक आपसमा मिलेर समाधान गर्नुपर्ने बताउनु बताए। विकास, उद्योग, व्यापार वा कारोबारको साझेदारीको रुपमा अघि बढ्नसके मात्रै दुवै देशले सोचेको विकास निर्माण हुनसक्ने धारणा उनकाे छ । 

उले भने, “हाम्रो दुवै देशको सम्बन्धलाई अब हामीले नयाँ धारा र नयाँ दिशा दिन जरुरी छ । त्यो के हो भने जो नेपाल र भारतमा दुवै मुलुकमा जुन उपलब्ध श्रोत, साधन, ज्ञान, विज्ञान र प्रविधि छ, त्यसको उपयोगबाट हामीले विकासको लक्ष्य प्राप्त गर्न सक्नेछौँ । दुवै मुलुकमा रहेको गरिबी, बेरोजगारी, अशिक्षाबाट जो पीडित छन्, वञ्चित छन्, त्यसको समाप्त गर्न विकास, उद्योग, व्यापार वा कारोबारको साझेदारीको रुपमा अघि बढ्न आवश्यक छ ।”

अध्यक्ष यादवले एक अर्का देशबीच एकअर्काको हीतलाई समेटर अघि बढ्न जरुरी रहेको बताए। नागरिकहरु भारत गएपछि फर्किंदा र भारतका नागरिक नेपालबाट फर्किंदा समस्या झेल्नुपरेको भन्दै त्यसलाई समाधान गरेर अघि बढ्नुपर्ने बताए।

नेपाल–भारत मैत्रीपूर्ण सम्बन्ध जनस्तरसम्मै हुनुपर्छः अध्यक्ष राउत

जनमत पार्टीका अध्यक्ष डा।चन्द्रकान्त राउतले नेपाल–भारत मैत्रीपूर्ण सम्बन्ध जनस्तरसम्मै हुनुपर्ने बताएका छन् । 

कार्यक्रममा बोल्दै नेपाल र भारतको मैत्रीपूर्ण सम्बन्ध व्यापारीक र कर्मचारी तहमा मात्रै नभई दुई देशका जनताहरु एक अर्कासँग नजिक भएपछि मात्रै सुमधुर बन्ने बताए।

उनले दुई देशको मैत्रीपूर्ण सम्बन्ध व्यापारीक र कर्मचारीस्तरको मात्रै रहेर नहुने भन्दै सीमा क्षेत्रको समस्या सुधार अहिलेको आवश्यकता रहेको औंल्याए। राउतले कार्यक्रमहरु मात्रै गरेर सम्बन्ध सुधार नहुने भन्दै प्राविधिक विषयहरुको पनि हल खोज्नुपर्ने बताए।

उनले भारत–नेपालको मैत्रीपूर्ण सम्बन्धको लागि सन् २०१२ मा दिल्लीको जन्तरमन्तरमा अनसन बसेको स्मरण गर्दै सो समयमा प्रधानमन्त्री नरेन्द्र मोदीलार्ई १३ बुँदे ज्ञापनपत्र समेत बुझाएको स्मरण गर्दै सीमा क्षेत्रको समस्या हल गर्नुपर्ने आवश्यता रहेको औंल्याए।

उनले भने, “दुई देशको मैत्रीपूर्ण सम्बन्ध केवल व्यापारीक रुपमा मात्रै रहेर पनि हुँदैन, केबल कर्मचारीको स्तरमा रहेर मात्रैपनि हुँदैन । जतिबेला दुई देशका जनताहरु एक अर्कासँग नजिक रहन सक्छन् । अनि मात्रै दुई देशको सम्बन्ध सुमधुुर हुन्छ । हामीले कार्यक्रमहरु मात्रै गरेर सम्बन्ध सुधार गर्न सक्दैनौं । प्राविधिक कुराहरु के के सुधार गर्न आवश्यक छ रु त्यो पनि हेर्नुपर्ने हुन्छ ।”