नेपाल धितोपत्र बोर्डबाट थप ५ वटा नयाँ कम्पनीले पाए ब्रोकर लाइसेन्स


काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ५ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ।

हिजो (बिहीबार) बसेको बोर्डको बैठकले थप ५ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स दिने निर्णय गरेको बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए ।

ब्रोकर लाइसेन्स पाउने कम्पनीहरुमा सजिलो ब्रोकर, रोडशो सेक्युरिटिज, बेनी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज र सनी सेक्युरिटिज कम्पनी रहेको प्रवक्ता श्रेष्ठले बताए ।

यीमध्ये हिमालयन र सनी सेक्युरिटिजले पूर्ण कार्य गर्ने र बाँकी ३ वटा सीमित कार्य गर्ने ब्रोकरको लाइसेन्स पाएका हुन्।

बोर्डले हालसम्म ३७ ओटा नयाँ ब्रोकरलाई लाइसेन्स प्रदान गरेको छ । यसअघि ३२ वटा नयाँ कम्पनीले सेबोनबाट ब्रोकर लाइसेन्स पाइसकेका छन्।

अब ६ वटा कम्पनी ब्रोकर लाइसेन्सको पर्खाइमा छन्। बोर्डबाट ब्रोकर लाइसेन्स पाइसकेकामध्ये १८ वटाले कारोबार सदस्यता पाइसकेका छन्। तीमध्ये केहीले ब्रोकरेज सेवा पनि सुरु गरिसकेका छन्।

बोर्डले ४३ कम्पनीहरुलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र दिएको थियो ।