गत आर्थिक वर्षमा विदेशी विनिमय सञ्चिती २६.६ प्रतिशतले बढ्यो


काठमाडौँ । विदेशी विनिमय सञ्चिती २६.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती अनुसार २०७९ असार मसान्तमा रु. १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु. १५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको छ । सञ्चिती २६.६ प्रतिशतले बढेको हो ।

अमेरिकी डलरमा पनि २३.१ प्रतिशतले बढेको जनाएको छ । यो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० असार मसान्तमा ११ अर्ब ७४ करोड कायम भएको छ । जनाएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये २०८० असार मसान्तमा नेपाल राष्ट्र बैंकमा रु. १३ खर्ब ४५ अर्ब ७८ करोड रहेको रहेको छ । यो सञ्चिति २०७९ असार मसान्तमा रु. १० खर्ब ५६ अर्ब ३९ करोड रहेको थियो । २०८० असार मसान्तमा २७.४ प्रतिशतले वृद्घि भएको जनाएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु. १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०८० असार मसान्तमा रु.१ खर्ब ९३ अर्ब ५९ करोड पुगेको छ । यो २१.४ प्रतिशतले वृद्धि भएको छ । २०८० असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९÷८० को आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।

२०८० असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।