साइबर सुरक्षा नीतिमाथि छलफल, इन्टरनेटको बल्क गेटवे सुरक्षित राख्नुपर्ने सुुझाव


काठमाडौं । राष्ट्रिय साइवर सुरक्षा नीति २०८० माथी सरोकारवालासँग अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ ।

थापागाउँस्थित प्रेसीडेन्सियल बिजनेश स्कुलमा विभिन्न सरोकारवाला निकायहरुको उपस्थितिमा छलफल कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा केन्द्रिय साइवर सुरक्षा, सेन्टर फर साईबर सेक्युरिटी रिसर्च एण्ड इन्नोभेशन, एनपी सर्ट र डिजिटल राईट्सको संयुक्त आयोजना साईबर सुरक्षा नीतिमाथिका समस्या चुनौतिका विषयमा छलफल भएको हो ।

छलफल कार्यक्रमका सहभागीहरुले सरकारले जारी गरेको राष्ट्रिय साईबर सुरक्षा नीति सरोकारवालासँग छलफल नै नगरी एकतर्फी रुपमा जारी गरिएकोमा आपत्ति जनाएका थिए ।

उक्त कार्यक्रममा सीएसआरआईका अध्यक्ष तथा प्राध्यापक डाक्टर शुवर्ण शाक्यले आम सरोकारवालाबाट प्राप्त राय सुुझावलाई साइवर सुरक्षा नीति २०८० मा समावेश गर्न आवश्यक पहल गर्ने बताए । साथै उनले सुरक्षा नीतिलाई आम नागरिकको हितलाई ध्यानमा राखेर ल्याउन लागेका बताए ।

त्यस्तै, क्यान महासंघका महासचिव चिरन्जीवी अधिकारीले सरकारले विभिन्न सरोकारवाला निकायसँग समन्वय गर्न नसकेको बताए । साथै उनले आफूूहरुले अहिलेसम्म कुनै पनि धर्ना, अनशन, आन्दोलन तथा विरोध प्रदर्शनका कार्यक्रम गरि सरकारलाई दबाव सिर्जना नगरेर सरकारले हेपेको आरोप लगाए ।

उनले आईटी क्षेत्रमा निजि क्षेत्रको खर्बौै लगानी रहेको बताउँदै सरकारले उचित ध्यान नदिएको गुनासो गरेका छन् । महासचिव अधिकारीले भने, “लगानी भनेर केवल नगदलाई मात्रै हेरियो, आईटी क्षेत्रमा लगानी भएको ज्ञान, शिप र समयको कुनै मूल्य दिएन, जुन त्रुटीपूर्ण छ ।” उनले नेपाल सरकारले विभिन्न सफ्टवेयर निर्माणका लागि कृषिमा जसरी ऋण प्रदान गरिन्छ त्यसरी नै सरकारले सहुलियतपूर्ण ऋण प्रदान गरे साइवर सुरक्षाको विकासमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा भिमध्वज श्रेष्ठले सरकारले जारी गरेको साईबर सुरक्षा नीतिका धेरै विषय नमिलेको टिप्पणी गरेका थिए । त्यस्तै, कार्यक्रममा एनसेलकी सूचना तथा सुरक्षा विभाग प्रमुख एसमीन भट्टराईले नेपाल साइवर सुरक्षामा अन्य देशको तुलनामा निकै कमजोर र पछाडि परेको बताइन् । साथै, उनले साइवर सुरक्षा नीति २०८० ले आम नागरिकसँग साइवर सुरक्षा सम्बन्धी विषयमा जनचेतना फैलाउने कुराको तारिफ गरेकी छन् ।

उनले इन्टरनेटको गेटवे बल्कमा किनेर वितरण गर्ने कुरा सहजिकरण हो कि नियमन हो ? भन्ने कुरामा स्पष्ट हुनुपर्ने बताईन् । उनले भनिन्, “साईबर सुरक्षा भनेको हार्डवयरको सुरक्षा होइन, अभौतिक चिजको सुरक्षाको लागि जनतामा जनचेतना जरुरी छ ।”

कार्यक्रममा नेपाल बैंककी साइबर सुरक्षा विभागकी बन्दना शर्माले साईबर सुरक्षा जनताको लागि जरुरी भएको तर सरकारले नै जनचेतना फैलाउनुपर्ने अवस्था रहेको बताईन् । शर्माले साइबर सुरक्षाको प्यारामिटर छुट्याउन जरुरी भएको बताईन् । उनले क्रिटिकल पूर्वाधारको रुपमा साईबर क्षेत्रको सुरक्षा गर्नुपर्ने बताईन् । बैंक, अस्पताल तथा बीमा कम्पनीहरुको साईबर सुरक्षालाई सरकारले विशेष महत्वदिएर जनताको सम्पत्तिको सुरक्षाको रुपमा लिनुपर्ने सुझाव दिएकी छिन् ।