आइसिटी अवार्ड २०२३ को अनलाइन नोमिनेसन भदौ १५ सम्म


काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको आइसिटी अवार्डको आठौं संस्करणको लागि अनलाइन नोमिनेसन (आवेदन) भदौ १५ गतेसम्म बुझाउन सकिने छ । लिभिङ विथ आइसिटीको मुख्य आयोजनामा हुने ‘आइसिटी अवार्ड’मा यस वर्ष १३ विधा सहित सातै प्रदेशका स्टर्टाअपहरुलाई सम्मान गर्नेगरी आवेदन खुल्ला गरिएको हो ।

यस वर्ष आइटी प्रोफेसनलहरुलाई लक्षित गरेर प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड २०२३ विधा थप गरिएको जनाएको छ । अवार्डमा स्टार्टअप तथा इन्नोभेसन सम्बन्धी विधाहरुमा स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड विधाहरु रहेको उल्लेख गरिएको छ ।

यसैगरी व्यत्तिmगत उपलब्धीको आधारमा प्रदान गरिने विधाहरुमा प्रोफेसनल एक्सिलेन्स, पायोनियर, आन्टरप्रेनर, नेपाली डायस्पोरा र वुमन आइकन आइसिटी अवार्ड विधाहरु समावेश छन् । आयोजकका अनुसार डिजिटल रुपान्तरणमा अभ्यासरत सस्थाहरुलाई प्रदान गर्ने अवार्ड विधाहरुमा डिजिटल एजुकेशन पब्लिक र प्राइवेट सेक्टर, डिजिटल गर्भनेन्स र डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२३ रहेका छन् । यसैगरी सार्क देशहरुका स्र्टाटअपहरुलाई लक्षित गरेर साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२३ विधामा पनि नोमिनेशन खुल्ला जारी छ ।

सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्ड हरेक वर्ष परिस्कृत र विस्तारित रुपमा आयोजना हुदै आइरहेको छ । यस वर्ष आयोजकले सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गर्नेगरी ‘प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन’ पनि सुरु गरेको जनाएको छ । सातै प्रदेश र काठमाडौैंमा प्रिइभेन्टको रुपमा स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम पनि सञ्चालन हुने आयोजक समितिका अध्यक्ष राजन लम्सालले जानकारी दिए । यसैगरी स्टार्टअप, आइडिया र इन्नोभेसनको पिचिङ सहित छनौट प्रकृयालाई कान्तिपुर टेलिभिजन मार्फत पनि विशेष एपिसोड प्रशारण गरिने आयोजकले जनाएको छ ।

भदौ तेस्रो हप्तादेखि सञ्चालन हुने अवार्डको छनौट प्रकृयाको लागि विभिन्न २५ चरणमा जुरी समितीको मिटिङ तथा प्रिजेन्टेशन सेसनहरु सञ्चालन हुनेछन् । जुरी समितिमा नेपाल सरकारका प्रतिनिधिहरु सहित १४ जना विज्ञ रहेका छन भने सल्लाहकार समितिमा १५ जना विशिष्ट व्यत्तिहरु रहेका छन् । साउथ एसिया स्टार्टअप अवार्डको लागि भारत, बंगलादेश, पाकिस्तान, श्रिलंका लगायतका देशहरुबाट विज्ञ जुरी समिति मार्फत छनौट प्रकृया सञ्चालन गरिने उल्लेख गरिएको छ ।
आवेदन दर्ताको लागि आधिकारिक वेबसाइट https://ictaward.org  मार्फत विवरण बुझाउन सकिन्छ ।

आयोजकका अनुसार आफु स्वंम वा अन्य कोहिले सम्वन्धित व्यत्ति, कम्पनी वा सस्थाको सम्पुर्ण विवरण उल्लेख गरेर नोमिनेशन दर्ता गर्न सकिनेछ । स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधाको लागि भदौ १५ र अन्यको लागि भदौ ३१ गतेसम्म नोमिनेशन बुझाउन सकिने आयोजकले विज्ञप्तीमार्फत जानकारी गराएको छ ।