बिहीबारदेखि हिमालयन आर्ट फेस्टिभल हुँदै


काठमाडौँ । भदौं ७ गते (बिहीबार) देखि १३ गतेसम्म कला प्रदर्शनी हुने भएको छ । हिमालयन आर्ट फेस्टिभल नाम दिइएको प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा हुन लागेको हो ।

उक्त प्रदर्शनी ई–आर्टस् नेपालले सन् २०१७ देखि निरन्तर रुपमा हरेक वर्ष नेपालीहरुको महान् चाड दशैंको अवसर पारेर आयोजना गर्दै आइरहेको छ ।

ई–आर्टस् नेपालका सह—संस्थापक आशा डङ्गोलले भनिन्, “दशैंमा धेरै मेलाहरुको आयोजना भइरहेको हुन्छ । नेपाली कलाको कमि थियो, त्यहि अवस्थालाई मनन् गर्दै नेपाली कलाकारहरुको समकालिन अवस्था र प्रोत्सानका साथ सन् २०१७ देखि यो फेस्टिभलको आयोजना गर्दै आइरहेका छाँै ।”

नेपाली कलाकृति नेपालीहरुकै घरमा सजिउन् भन्ने उद्देश्य यस प्रदर्शनीले बोकेको कलाकार डंगोलले बताइन् ।

“पहिला पहिला नेपाली कलाकृति किन्न गाह्रो हुन्छ भन्ने थियो, तर अहिले आकर्षक मूल्यमा मध्यम वर्गिय परिवारलाई लक्षित गरी यस कला प्रर्दशनी गर्न लागिएको हो । करिब ८० भन्दा बढी कलाकारहरुले आप्mनो कला प्रदर्शनीमा राखेका छन् । नेपाली कलाकारहरुको कलाको स्तर मापनको लागि समेत यस प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्छ,” उनले बताइन् ।

सन् २०१७ मा समसामयिक चित्रकला र मूर्तिहरुबाट शुरु गरिएको यस फेस्टिभलमा ५० जना कलाकारहरुले भाग लिएका थिए । २०१८ देखि काठमाडौं उपत्यकामा रहेका कलाकारहरुका विभिन्न संस्थाहरुसँग छलफल गरेर उनीहरुको सहयोग लिँदै थप कलाकारहरु थप्दै गएको कलाकार डंगोलले बताइन् ।

प्रदर्शनीमा कलाका विभिन्न विधालाई समेटिएको छ । नेपाली बरिष्ठ कलाकारहरु देखि वर्तमानका पुस्ताका कलाकारहरुको कामलाई प्रदर्शनीमा राखिएको उल्लेख गरिएको छ ।

आयोजकका अनुसार विधागत हिसाबले हेर्ने हो भने ‘टु डी’ र ‘थ्री डी’ डाइमेन्सनका कलाहरु यस प्रदर्शनीमा समावेश गरिएका छन् । कलाकारहरुः कृष्ण मानन्धर, किरण मानन्धर, शशिकला तिवारी, राजन काफ्ले, आशा डंगोल, एरिना ताम्राकार, भाइराज मर्हजन, प्रदिप बज्राचार्य, प्रमिला बज्राचार्य, बिनोद प्रधान, जुपिटर प्रधान, विधाता के.सी, सागर मानन्धर, उजय बज्राचार्य, सरिता डंगोल आदिदेखि हालका युवा कलाकारहरुमा इशान परियार, सविता डंगोल, सुजन डंगोल, मुना भडेल लगायत करिब ८० जना कलाकारहरुको कलाकृति एउटै थलोमा हेर्न सकिन्छ ।

हिमाल, पहाड, तराइका कलाकारहरुको सहभागिता यस प्रदर्शनीमा राखिने जनाइएको छ । महिला कलकारहरुको समेत उल्लेख्य सहभागिता रहेको कुरा यस प्रदर्शनीमा सहभागी अर्की कलाकार तथा ई–आर्ट्स नेपालका सह—संस्थापक एरिना ताम्राकारले बताइन् ।