नाडा अटो शो मा कुन ब्रान्डका कस्ता मोडल आउँदैछन् ?


काठमाडौँ । काेभिड- १९ को महामारीकाे कारण र सरकारले २०७९ वैशाखदेखि महँगा सवारी साधनको आयातमा लगाएको प्रतिबन्धका कारण करिब चार वर्ष नाडा अटोमोबाइल्स एशोसिएशनले आयाेजना गर्दै आएको नाडा अटो शो हुन सकेको थिएन । नाडा अटोमोबाइल्स एशोसिएशनले करिब चार वर्षपछि अटो शो गर्न लागेको हाे ।

अर्थतन्त्रमा सुधार आएसँगै सरकारले करिब ८ महिनापछि आयात प्रतिबन्धकाे फुकुवा गर्यो । आयातकाे फुकुवा र अर्थतन्त्र लयमा आएसँगै नाडा अटोमोबाइल्स एशोसिएशनले १५ औँ नाडा शो आउने भदौ २६ गतेदेखि ३१ गतेसम्म आयोजना गर्ने तयारी गरेको छ ।

अटो शो मा विद्युतीयसहित पेट्रोलियम चार पांग्रे, तीन पांग्रे तथा दुई पांग्रे सवारीसाधन, ढुवानीका साधन, स्पेयर पार्टस्, टायरट्यूव, ब्याट्री, एसेसरिज, अटो कम्पोनेन्टस् एवम् ग्यारेज उपकरण समेत राखिने नाडाले जनाएकाे छ ।

प्रदर्शनीमा बैंक, इन्स्योरेन्स लगायत ट्राफिक, सडक सुरक्षा र वातावरणसँग सम्बन्धित संघ संस्थालगायतका विभिन्न सामग्रीहरू सहित कूल ८२ वटा स्टलहरू प्रदर्शनीमा रहने छन् जसमध्ये चारपांग्रे सवारी साधन १७, दुई पांग्रे २३ , कर्मसियल सवारी साधन ६, बैक तथा वितीय निकायहरू ५, स्पेयर पार्टस, टायर लुव्रिकण्टस, कम्पोनेण्ट र एसेसरिज ३१ रहने उल्लेख गरिएकाे छ ।

प्रदर्शनीमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र २० अर्बभन्दा बढीको कारोबार हुने नाडाको अनुमान छ ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष धुव्र थापाले चार वर्षपछि आयोजना हुन लागेको नाडा अटो शोले सुस्ताएको अटो क्षेत्रलाई चलायमान बनाउनुका साथै आम नागरिकलाई एउटै छानामुनि विभिन्न स्वदेशी र विदेशी ब्राण्डका सवारी साधनको अवलोकन गर्न पाउने बताए ।

अटोमोबाइल क्षेत्रका लागि कुम्भ मेलाको रूपमा मानिने नाडा अटो शोको १५औँ संस्करणमा नयाँ मोडलका कार, जिप, मोटरसाइकलसहित गाडीका पार्ट्स, हेलमेटलगायतका सामग्री राखिने नाडा अटो मेलाका संयोजक अनुप कुमार बरालले बताए ।

विभिन्न आर्कषक छुट, अन द स्पट फाइनान्सको सुविधा रहेको नाडा अटो शोको यो वर्षको मुख्य आर्कषणको रूपमा इलेक्ट्रिक र हाइब्रिड कारहरू रहनेछन् भने मेला अवलोकन गर्न आउने अवलोकनकर्ताले नयाँ प्रविधिकाे समेत ज्ञान लिन सक्छन् ।

सन् २०१९ देखि नेपालमा भित्रिएका विद्युतीय गाडीदेखि पेट्रोलियम पर्दाथबाट चल्ने गाडीको वहृत प्रर्दशनी हुने संयोजक बरालको भनाइ छ । मेलामा टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले ह्याचब्याक विद्युतीय गाडी भित्र्याउँदै छ । नेपालमा सबैभन्दा बढी बिक्री हुने ह्याचब्याक सेगमेन्टमा टियागो ईभी मेलाको आकर्षण हुने बताएको छ ।

भारतमा ७ वटा भेरिएन्टमा उपलब्ध टियागोका मूल्य त्यहाँ ८ लाख ५० हजार छ । सिप्रदी ट्रेडिङका अनुसार नेक्सन ईभी म्याक्स, टिगोरका नयाँ मोडल पनि प्रर्दशनीमा राखिने छ । त्यस्तै केही समय अघि नेपालमा सार्वजनिक भएको मारुती सुजुकीको नयाँ अफरोड एसयूभी जिम्नीले अहिले बजारमा निकै राम्रो चर्चा कमाएकाे अवस्था छ ।

यो नयाँ एसयूभीलाई आधिकारिक वितरक सिजी मोटोकर्पले जेटा र अल्फा गरी कुल दुई भेरिएन्टमा नेपाल ल्याएको हो । जसको मूल्य क्रमश ५९ लाख ९९ हजार र ६४ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले यो नयाँ एसयूभीलाई आगामी भदौ २६ देखि शुरु हुने नाडा अटो शोमा विशेष प्राथमिकताका साथ प्रदर्शनीमा राख्ने तयारी गरेको छ ।

पारामाउन्ट मोटर्सले नयाँ मोडलको विद्युतीय एसयुभी एमजी जेडएस ईभी प्रदर्शनीमा सहभागी गराउने छ । त्यस्तै महिन्द्राको एक्सयुभी ४०० र स्कोरपियो एन मेलाको आकर्षण हुने कम्पनीले जनाएको छ । सिजी मोटोकर्पले २ वटा मोडल प्रदर्शनका लागि राख्ने भएको छ । सुजुकीको आधिकारिक विक्रेता सिजी मोटोकर्पले जिम्नी र फ्रोङ्क्स मोडल राख्ने छ ।

त्यस्तै कियाले नेपालमा नयाँ मोडलको विद्युतीय कार किया ईभी–६ नाडा अटो शोमा ल्याउने भएको छ । जसको मूल्य १ करोडभन्दा बढी पर्ने अनुमान गरिएको छ । गाडीको सेफ्टी फिचर्समा हाईवे ड्राइभिङ एसिस्ट, हेडअप डिस्प्ले लगायत आधुनिक सुविधा रहेकाे कम्पनीले जनाएकाे छ ।

त्यस्तै बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले नाडा अटो शो २०२३ मा दुई नयाँ मोडल प्रदर्शनी गर्नेछ । कम्पनीले आफ्नो मोडल प्रिमियम ह्याचव्याक डल्फिन र प्रिमियम सेडान कार सिल प्रदर्शनी गर्न लागेको हो ।

फ्रेन्च ब्रान्ड सिट्रोन सी -३ विद्युतीय गाडीको पनि स्टल बुकिङ भएको छ । कम्पनीले गाडीको सुरुवाती मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकेको छ । जुन मेलाको आर्कषण बन्ने अनुमान रहेको छ । नाडा अटो शोमा विद्युतीय गाडी ‘सेरेस– ३’ सार्वजनिक हुने भएको छ ।

भदौ २६ देखि सञ्चालन हुन गइरहेको नाडा अटो शोमा एमएडब्लु वृद्धि अटोकर्पले सेरेस–३ बजारमा ल्याउन लागेको हो। ५२.७ किलोवाट आवरको ब्याट्री जडित यस गाडीले ९९ किलोवाट पावर दिने कम्पनीले जनाएको छ। १ सय ९० मिलिमिटर ग्रान्ड क्लियरेन्स भएको सेरेस–३ ले ४ सय ५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।

सुरक्षाका लागि यसमा ६ एयरब्याग, इएसपी, इबिएरइबिडी, हिल लन्च एसिस्टेन्स ,आटो होल्ड, एचडिसी, टिपिएमएस, लेन डिपार्चर वार्निङ र ट्र्याक्सन कन्ट्रोल, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरालगायत फिचर रहेका छन् ।

अटाे शोमा टोयोटा, मित्सुबिसी, प्रोटोन, स्कोडा र होन्डाका चारपांग्रे सवारीसाधन देख्न नपाइने भएको छ । मेलाका संयोजक बरालले केही पूराना ब्रान्ड मेलामा सहभागि नहुनुको कारण नयाँ मोडलका सवारी साधनहरू कम्पनीले भित्राउन असर्मथ रहेकाले मेलामा सहभागि हुन सकेकाे बताए । उनले भने, “करिब ८ महिनाजति सवारी आयातमा प्रतिबन्ध लगाउँदा नयाँ सवारीका मोडल भित्राउने वातावरण नहुदाँ उनीहरू मेलामा सहभागि हुन नसेकाे हाे ।”

बरालका अनुसार मेलामा स्टल बिक्री निकै पारर्दशी तरिकारले छुटाइएको अवस्था छ । चार वर्ष अघिको स्टलको मूल्य र अहिलेको मूल्यमा केही फरक नभएकाे बरालकाे भनाइ छ । उनले भने, “३५ हजारदेखि १४ लाखसम्मको स्टल मूल्य नाडाले तोकेको छ । मेलामा विशेषगरि अवलोकनकर्ताहरूले प्रविधिक फाइदा लिने हाम्रो अपेक्षा रहेको छ ।”

वर्तमान समयमा के कस्ता ब्रान्डहरू नेपालमा भित्रिए भन्रेदेखि अटोमोबाइल्स क्षेत्रको अवस्था कुन स्थितिमा छ भन्ने विषयमा अवलोकनकर्ताहरूले बुझन पाउने स्थिति रहने बरालले बताए ।