अटाे क्षेत्रलाई अनुत्पादक र विलासीताको रूपमा हेरिनु हुँदैनः वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ


काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अटो क्षेत्रलाई अनुत्पादक र विलासीताको वस्तुको रूपमा हेर्न नहुने बताएका छन्। 

जर्नालिष्ट एसोसिएसन अफ अटोमोवाइल मोविलिटी (जाम नेपाल) को साधारणासभामा बोल्दै उनले राज्यले जबसम्म यस्ता वस्तुलाई अनउत्पादक भनेर परिभाषित गर्छ तबसम्म देशको अर्थतन्त्रमा सुधार नआउने बताएका हुन् । 

उनले भने, “सरकारले देशको अर्थतन्त्र सुधार क्रममा रहेको भनेपनि यो देशको अर्थतन्त्र धरापको स्थितिमा नै छ । निजी क्षेत्रलाई सहज नीति ल्याउन सरकारसँग माग गरिरहँदा पनि सरकार मौन छ । ” 

श्रेष्ठले देशका सडकको अवस्था गुणस्तरहिन रहेको आरोप लगाएका छन् । उनले कुनै पनि सडकहरू निर्माण गर्दा सिधा सडक निर्माण गरेर विगतबाट हुदै आएका दुर्घटनालाई न्युनिकरण गर्न सरकारसँग माग गरेका छन् ।

कार्यक्रममा बाेल्दै नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका महासचिव सुरेन्द्र उप्रेतीले सरकारका कारण अटो क्षेत्र धरापमा परेको बताएका छन् ।

उप्रेतीले सरकारको अस्थिर नीतिका कारण अटो क्षेत्र चलायमान नहुदा कयौं शोरुमहरू बन्द हुनेदेखि व्यवसायीहरू प्यानिक हुन बाध्य भएको बताएका हुन् । 

उनले भने, “सरकारले व्यवसायीलाई निरूत्साहित गर्ने काम गरेको छ, सरकारले ल्याएको विभिन्न असहज नीतिले अटो व्यापारमा धक्का लागेको छ।”