जग्गा कित्ताकाट खोल्दैमा अर्थतन्त्र चलायमान हुन्छ भन्नु ‘ओभर कन्फिडेन्स’ हुन्छ : अध्यक्ष लोहनी


काठमाडौँ । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले जग्गा कित्ताककाट खोल्दैमा तत्कालै अर्थतन्त्र चलायमान हुने अवस्था नरहेको बताएका छन् ।

अध्यक्ष लोहनीले घर जग्गा कित्ताकाट खोल्ने सरकारको निर्णय स्वागतयोग्य रहेको भन्दै घर जग्गा कारोबारमा भने सहजता आउने विश्वास व्यक्त गरे ।

जग्गा कित्ताकाट खोल्दैमा अर्थतन्त्र चलायमान हुन्छ भन्नु ‘ओभर कन्फिडेन्स’ हुने अध्यक्ष लोहनीको टिप्पणी छ । उनले भने,“ कित्ताककाट खोल्दैमा सबै कुराहरू खुल्छ भनेर भन्यौं भने यो ओभर कन्फिडेन्स हुन्छ । त्यस्तो होइन । जग्गा कित्ताकाटले केही हदसम्म खोल्छ तर अन्य आर्थिक परिसूचकहरु पनि सुधार हुँदै जान जरुरी छ ।”

उनले मुलुकको वर्तमान अर्थतन्त्र चलायमान जग्गाको कित्ताकाट खोलेर मात्रै नभएर अर्थतन्त्रका अन्य परिसूचकहरु पनि सुधार हुन आवश्यक रहेको बताए ।

अर्थविद् तथा अर्थशास्त्रीहरूले घर जग्गा कारोबारमा जग्गा कित्ताकाट खोल्दा मात्रै अर्थतन्त्र चलायमान बनाउन सकिने तर्क गरेको भन्दै सरकारले मनन गरेर खुला गरेको उनको भनाई थियो ।

न्युज एजेन्सी नेपालसँग कुराकानीमा अध्यक्ष लोहनीले भनेका छन्,“ अर्थतन्त्र चलामायन बनाउन घर जग्गा कारोबारको महत्वपूर्ण भुमिका भएपनि सम्पूर्ण अर्थतन्त्रका सूचकहरु जग्गा कित्ताकाट खुल्दैमा चलायमान बन्ने आधार छैन ।”

नेपालमा जग्गाको कारोबार औपचारिक भन्दा अनौपचारिक क्षेत्रबाट बढी कारोबार हुने गरेको उनको भनाई छ । दुईदेखि ३ प्रतिशत औपचारिक र करिब ९७ प्रतिशत घर जग्गा कारोबार अनौपचारिक प्रणालीबाट भइरहेको अध्यक्ष लोहनीको आकलन छ ।

सरकारले नीति बनाएर घर जग्गा कारोबारलाई संस्थागत कारोबारमा ल्याउन आवश्यक रहेको उनको भनाई थियो ।सरकारले २०७९/०८० को बजेटमा पनि घरजग्गा कारोबार अनुमति प्राप्त कम्पनीहरूबाट मात्र कारोबारको व्यवस्था गर्ने भने पनि अहिलेसम्म कार्यान्वयन गर्न नसकेको गुनासो गरे ।

सरकारले घरजग्गा सम्बन्धि ऐन नियम बनाएर अनुमति प्राप्त कम्पनीहरूलाई मात्र कारोबार गर्ने पाउने र ब्रोकरहरूलाई लाइसेन्स सिस्टम गराउन जरुरी रहेको अध्यक्ष लोहनीको बुझाई छ ।