श्रीनगर एग्रीटेकको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट नियुक्त


काठमाडौं । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ ।

कम्पनीले आइपीओ निष्काशनको लागि थप प्रक्रिया अगाडी बढाउन आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ ।

मंगलबार श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सतीशचन्द्र श्रेष्ठ तथा निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीबीच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौतामा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको सेयर सार्वजनिक निष्काशन सम्बन्धि कार्य सम्पन्न गर्नका लागि आवश्यक पूर्वतयारी गर्ने जनाइएको छ । योसँगै कम्पनीले नियामक निकायहरुबाट सेयर निष्काशनका लागि अनुमति माग गर्नेछ ।

कम्पनीले जारी पुँजीको १३ प्रतिशतले हुन आउने प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका दरले हुन आउँने १३ करोड रुपैयाँ बराबरको १३ लाख कित्ता सेयर आइपीओ निष्काशन गर्ने भएको छ ।

श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम कम्पनी रजिष्टारको कार्यालयमा बिधिवत दर्ता भई संचालनमा रहेको छ । यस कम्पनीको रजिष्टार कार्यालय काठमाण्डौं महानगरपालिका, वडा नम्बर १ थिरवम सडक, टंगाल काठमाडौंमा रहेको छ ।

कम्पनीले कृषि अन्तर्गतको व्यवसाय इं.सं.२००२ मा श्रीनगर एग्रो फार्मको स्थापना बाट सुरु गरेको थियो । फार्म अन्तर्गत ह्याचरी तथा ब्रीडरबाट कुखुराको चल्ला उत्पादन गर्दै इ.स. २०१७ देखि श्रीनगर एग्रीटेक इण्डष्ट्रिज प्रा. लि.बाट आवश्यक पर्ने दाना तथा आहारको उत्पादनको कार्य सुरु गर्दै कम्पनीले शुद्दोधन–४ रुपन्देहीमा दाना कारखाना, व्यवसायिक कृषि फार्म स्थापना गरेको छ र पाल्पाको तेल्घामा ब्रिडर फार्म संचालनमा ल्याएको छ ।

कम्पनीले व्यापार विस्तारको क्रममा वुटवल, रुपन्देहीमा वद्यशालाको स्थापना गर्ने योजना गरेको छ । कम्पनीले भविष्यमा प्रशोधित मासु उपभोत्तामाझ ल्याउनको लागि प्रशोधन केन्द्र तथा शितभण्डारको स्थापना गर्ने योजना रहेको छ ।

कम्पनीले,श्रीकिसान इनोभेसन हवको माध्मयबाट किसानहरुको क्षमता अभिवृद्दि गर्नका लागि समय–समयमा तालिम प्रदान गर्नुका साथै आफ्ना ग्राहकहरुलाई कृषि खेती, पशुपंक्षी पालन तथा व्यवसायसँग सम्बन्धित अन्य कार्य र प्राविधिक सहयोग उपलब्ध गराउँदै आइरहेको छ ।