काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आज (मंगलबार)देखि सवारी साधनहरूको कुम्भ मेला नाडा अटो शो २०२३ सुरु भएको छ ।
१५ औँ संस्करणको अटो शोको अर्थमन्त्री डा।प्रकाशशरण महतले उद्घाटन गरेका हुन् । कोभिड १९ र सरकारले सवारी आयातमा लगाएको प्रतिबन्धका कारण तीन वर्षसम्म हुन नसकेको नाडा अटो शो आजदेखि सुरु भएको छ ।
प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता समेत रहेकाे छ । जसमध्ये १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा बैंक तथा वित्तीय संस्था र ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहेको छ ।
६ दिन चल्ने अटो शोमा ७५ हजार भन्दा बढी अवलोकनकर्ताहरूले शोको अवलोकन गर्ने र २० अर्ब रुपैयाँ बढीको व्यापार हुने नाडाको भनाइ छ ।
भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना भएकाे अटो शोको अवलोकनकर्ताका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ र विद्यार्थीका लागि १५० रुपैयाँ शुल्क तोकिएको छ । प्रदर्शनीमार्गको सवारी चाप, पार्किङ व्यवस्थापनका लागि पहिलो पटक नाडाले सटल बसको व्यवस्था गरेको छ ।
प्रतिक्रिया दिनुहोस्